गुणस्तरहीन सडक बनाउने ठेकेदारको पैसा रोक्छौँ : खाँडादेवी गाउँपालिका अध्यक्ष

 पुस २२, २०७७ बुधबार २०:१७:३९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिकाको सडकको कालोपत्रे गर्ने जिम्मा लिएको निर्माण कम्पनीलाई दिने भुक्तानी रोक्ने भएको छ । सित्खा, भिरपानी हुँदै गोगनपानी जाने सडकको कालोपत्रे गर्ने क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेका व्यवसायीलाई दिने भुक्तानी रकम गाउँपालिकाले रोक्ने भएको हो । 

सडक निमार्ण गर्ने कम्पनीले सम्झौताअनुसारको सामग्री प्रयोग नगरि कमसल सामग्री प्रयोग गर्दा निमार्णको क्रममा नै सडक भत्किएको पाइएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभयो । सडक निर्माण गर्ने कम्पनीलाई भुक्तानी नदिन वाग्मती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।  

‘सडक निमार्णका क्रममा ठेक्का पाएको कम्पनीले अन्यन्तै गुणस्तरहीन सामग्री प्रयोग गरेको पायौँ । सडक निमार्ण भएको एक हप्ता नबित्दै भत्किन सुरु गरेको छ । स्थानीयले सडकमा कमसल सामग्री प्रयोग गरेको भन्दै व्यवसायीको चर्को आलोचना गरेका थिए । पछि गाउँपालिकाले जिल्ला समन्वय समितिको संलग्नतामा अनुगमन गर्दा अवस्थाका बारेमा थाहा भयो’, उहाँले भन्नुभयो । 

कम्पनीलाई पटक–पटक सचेत गराउँदा समेत नमानेकाले भत्किएको सबै संरचना निर्माण गर्नुपर्ने र बाँकी काम गुणस्तरयुक्त नभएसम्म मन्त्रालयले दिने सबै रकम तत्काल रोकिदिन गाउँपालिकाले निर्णय गरेर मन्त्रालयमा पत्र पठाएको अध्यक्ष तामाङले बताउनुभयो ।  

वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २३ करोड ७४ लाख ३४ हजार आठ सय २७ रुपैयाँको लागतमा भिरपानीको सित्खा हुँदै खाँडादेवी गाउँपालिका केन्द्रसम्म जाने सडक कालोपत्रे गर्न लुम्बिनी आत्रेय जेभीले जिम्मा पाएको थियो । 

सडक निमार्णका क्रममा ठेकेदार कम्पनीले गाउँपालिकाका प्रतिनिधिहरुलाई छल्दै सब–बेस र बेस राख्ने क्रममा त्यहीँ सडक खन्दा निस्किएको माटो प्रयोग गरेको र त्यहीँ माटोमाथि नै अलकत्रा छर्किएर कालोपत्रे गरेको पाइएको छ । कालोपत्रे तीन दिनमा नै उप्किन थालेको छ भने सडकको छेउमा निमार्ण गरिएको नालासमेत भत्किएको खाँडादेवी गाउँपालिका ३ भिरपानीका अर्जुन खड्काले जानकारी दिनुभयो ।  

‘हामीले सडकमा प्रयोग भएका सबै सामग्री कमसल छन् भनेर पटक–पटक गाउँपालिका र जिल्ला समन्वय समितिमा समेत भन्यौँ तर हाम्रो कुरा सुनुवाइ नै भएन । हामीले जानकारी गराएपछि पालिकाका प्रमुखहरू आएर एक/दुई पटक अनुगमन गरे जस्तो गरेर फर्किए । व्यवसायीले भने आफ्नै सुरमा काम गर्दै गए । निमार्ण गरेजति सबै सडक अत्यन्तै कमजोर छ’, खड्काले गुनासो गर्दै भन्नुभयो ।   

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया