कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तलाई उच्च अदालतले सफाइ दियाे

 चैत २९, २०७७ आइतबार १९:४१:३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – पाटन उच्च अदालत, हेटाैँडा इजलासले पनि अनशनरत गङ्गामाया अधिकारीका छोरा कृष्णप्रसादको हत्याका अभियुक्तहरूलाई सफाइ दिएको छ । न्यायाधीशहरू चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले १२ जना अभियुक्तलाई सफाइ दिने चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको पाटन उच्च अदालत, हेटौंडा इजलासका उपरजिस्ट्रार कैलाश भट्टराईले जानकारी दिनुभयो । 

२०६१ सालको जेठ २४ गते चितवनको बकुलहरमा गङ्गामायाका कान्छा छोरा कृष्णप्रसादलाई तत्कालीन माओवादीले सुराकी गरेको आरोप लगाउँदै गोली हानेर हत्या गरेको थियो ।

इतवार सुरूमा उच्च सरकारी वकिलको कार्यालय हेटौँडाका प्रमुख सहन्यायाधीवक्ता सन्देश श्रेष्ठसहित तीन जना सरकारी वकिलले अभियुक्तहरूलाई कृष्णप्रसादको हत्या अभियोगमा कारबाही हुनुपर्ने माग गर्दै बहस गरेका थिए । उनीहरूको बहस सकिएपछि जाहेरीवालाका तर्फबाट अधिवक्ता पुष्पराज पौडेल र महामुनिश्वर आचार्यले बहस गरेका थिए । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेललगायतले बहस गरे ।

२०७० चैत ३० मा छविलाल पौडेलसहित भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी, मेघनाथ पौडेल, जानुका पौडेल, सुभद्रा तिवारी, विष्णु तिवारी र रुद्र आचार्यमाथि मुद्दा चलाइएको थियो ।  चितवन जिल्ला अदालतले फरार रहेका रुद्र आचार्य (अहिले नर्दन आयरल्याण्डमा बस्दै आएका) बाहेक सबै प्रतिवादीलाई २०७५ भदौ २४ मा सफाइ दिएको थियो ।

त्यसविरुद्ध २०७६ भदाै १८ मा पाटन उच्च अदालतको हेटौँडा इजलासमा पुनरावेदन गरिएको थियो । हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गङ्गामाया र उहाँका पति नन्दप्रसादले प्रहरी कार्यालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार सङ्गठनहरूमा उजुरी दिए पनि कुनै कारबाही नभएपछि २०७० सालको साउन २८ गतेदेखि उनीहरूले आमरण अनशन थालेका थिए । नन्दप्रसादको अनशनकै क्रममा ज्यान गइसकेको छ भने गङ्गामाया अनशनमै हुनुहुन्छ ।  

छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग राखेर गङ्गामाया अधिकारी १२ औँ अनशनमा बसिरहनुभएकाे छ ।  उहाँ एक सय ११ दिनदेखि अनशनमा हुनुहुन्छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया