नारायणगढ–मुग्लिन सडकमा सकस : पानी पर्दा लेदो पहिरो, घाम लाग्दा सुक्खा पहिरो (तस्बिरहरू)

 साउन १, २०७८ शुक्रबार १५:५५:३३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – माथि छङ्गाछुर भिर, तल गहिरो त्रिशूली नदी । ठूल्ठूला ढुङ्गा र लेदो माटोसहित खसेको पहिरोले सडकको नामनिसान मेट्न लागेको जस्तो देखिन्छ । त्रिशूलीको धमिलो पानीमा डुब्ने गरी माथिबाट उसैगरी ढुङ्गा खसिरहन्छ । तैपनि ठूल्ठूला ढुङ्गा छल्दै, नाघ्दै गाडी गुडिरहेका हुन्छन् । 

सङ्घीय राजधानी काठमाण्डौ जोड्ने मुख्य राजमार्ग नारायणगढ–मुग्लिन सडक खण्डमा लगातारको पहिरोका कारण जोखिमसँगै समस्या बढ्दै गएको छ । काठमाण्डौ जोड्ने ‘लाइफ लाइन’ मानिएको सडक खण्डमा पहिरोको सकस अझै लामो समय जाने देखिएको छ । धरापजस्तै बनेको सडकमा जोखिम मोलेर यात्रा गर्नेहरूका कारण झनै समस्या थपिएको छ । 

सडक खण्डका विभिन्न ठाउँमा माटोको लेदोसँगै ठूला चट्टान खसिरहेको देखिन्छ  । सडक त्रिशूली नदीतर्फ भासिन थालेको छ, कतै कुन बेला पहिरो खस्छ भन्ने ठेगान छैन । ठाउँ–ठाउँमा खसेका पहिरोले थुनिएका यात्रु र चालक पहिरो खुल्ने प्रतीक्षामा बसेका हुन्छन् । केहीबेर सडक खुले पनि उतिखेरै फेरि बन्द हुन्छ । 

नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै धेरैले सहज यात्राको अपेक्षा गरेका थिए । पहिरो रोक्नका लागि गरिएको प्रयास सफल हुन नसक्दा स्तरोन्नति गरिएको छोटो समयमै सडक ठाउँ–ठाउँमा भत्किएका छन् । सडक खण्डका धेरै ठाउँ सुरक्षित भए पनि पछिल्ला वर्षमा नयाँ ठाउँमा पहिरो खस्न थालेपछि यात्रा जोखिमपूर्ण बनेको हो । 

वर्षाको समयमा मात्र होइन घाम लागेको दिनमा पनि पहिरो झर्ने गरेको छ । यस वर्ष यो सडकको चार ठाउँमा घाम र पानी दुवैमा पहिरो खसेर दुःख दिएको छ । वर्षासँगै सेती दोभान र कालीखोलामा नयाँ पहिरो झरेका हुन् भने चार किलो र पाँच किलोमा पुरानै ठाउँमा पहिरो खसेका छन् ।

सेती दाेभानमा ८० मिटर माथिसम्म पहाड भएको र त्यही ठाउँमा पहिरो झर्ने गरेको ६ वर्षदेखि यो सडक खण्ड हेर्दै आउनुभएका डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । पहिरोको माथि माटो र बीच भागमा पानीको मुहान भएकाले सेती दोभानमा पहिरोको जोखिम कायम रहेको उहाँले बताउनुभयो । 

पहिरो रोकथामको काम भएको ठाउँमा पनि पहिरो झरेको छ । एक सय ५० मिटर माथिसम्म जाली लगाएर पहिरो रोक्ने काम गरिएको चार किलोमा पनि पहिरो झरेको छ  । रोकथाम गरिएको भाग भन्दा माथिल्लो भागबाट पहिरो झरेको खनालले जानकारी दिनुभयो । पाँच किलोमा माथिबाट खोलिएको शाखा सडकसँगै लेदो झरेर दुःख दिइरहेको छ ।  

मुग्लिनदेखि नारायणगढतर्फ चार किलो, पाँच किलो र नारायणगढदेखि मुग्लिनतर्फ चौध किलो र बीस किलो सेती दोभानमा पहिरो झर्दै आएको छ । नयाँ पहिरो झरेका ठाउँमा अझै पहिरो झरेर भिरालो नबनेसम्म पहिरो रोकिने सम्भावना कम देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले बताउनुभयो ।

पानी परेपछि लेदो पहिरो र घाम लाग्दा सुक्खा पहिरो झर्ने समस्या रहेको थापाले बताउनुभयो । ‘यो सडक खण्डमा पहिरोको समस्या लामो समयसम्म रहने अवस्था छ’, उहाँले भन्नुभयो ‘जोखिम कायम रहेकोले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका छौँ ।’ 

मोटरसाइकल चलाउनेहरू यति हतारमा देखिन्छन् कि पहिरो खसिरहे पनि जोखिमको वास्ता नगरि अगाडि बढ्छन् । पहिरोका कारण होस् या अरू कुनै कारण सडकमा जाम भएपछि गाडी चलाउँदा चालकले आफ्नाे लेनमा बसेमा थप जाम नहुने भएकाले हतार नगर्न ट्राफिक प्रमुख थापाको आग्रह छ । 

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरूपको दुई लेनको फराकिलो सडक बनाउन विस्तारका क्रममा ठाउँ–ठाउँमा पहाड काटिएको थियो । वर्षाको समयमा हरेक वर्ष पहिरोका कारण यस सडक खण्डमा समस्या हुँदै आएको छ । यो सडक हुँदै सामान्य अवस्थामा दैनिक झन्डै १० हजार सवारी साधन दैनिक गुड्ने गर्दछन् । 

तस्बिर : शिव खनाल  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया