निःशुल्क सीप तालिम अब पालिकास्तरमै : विदेशमा दुःख पाएर फर्केकाहरु प्राथमिकतामा

 कात्तिक ८, २०७८ सोमबार १४:८:३६ | राजनप्रसाद श्रेष्ठ
unn.prixa.net

वैदेशिक रोजगार बोर्डलले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई लक्षित गरेर अघिल्लो आर्थिक वर्षमै सातै प्रदेशमा सीटीईभीटीका आंगिक संस्थाहरुमार्फत विभिन्न विषयमा निःशुल्क सीप परीक्षणसहित तालिम दिने व्यवस्था गरेको थियो । तर कोरोना महामारीको दोस्रो लहरका कारण नेपाल सरकारले तालिम तथा भेला हुने लगायत काम नगर्ने भनेपछि रोक्नुपर्यो । अहिले पुनः यो सञ्चालन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा हामीले १५ हजार जतिलाई लक्षित गरेर सीप तालिम सञ्चालन गरेका थियौँ । कोरोनाको कारण लगभग तीन हजार ७ सय जनाले तालिम सम्पन्न गरेर सीप परीक्षण पनि गरिसकेका थिए । बाँकी रहेकाहरुको लागि अहिले सीप तालिम सञ्चालन हुँदैछ । सीप परीक्षण पनि हुन्छ । र दोस्रो चरणमा थप नयाँ विषयसहित तालिम प्रदायक संस्था र निजी क्षेत्रलाई पनि समावेश गरेर यो  आर्थिक वर्षमा फेरि दश हजार जतिलाई लक्षित गरेर सीप तालिम सञ्चालन गर्ने वैदेशिक रोजगार बोर्डको लक्ष छ ।

बोर्डमार्फत निःशुल्क सिक्न पाइने सीपहरु

​अहिले सञ्चालन भइरहेका तह एक को सीप तालिम अन्तर्गत पलम्बर सहायक, डकर्मी, सटरिङ कार्पेन्टिङ, इलेक्ट्रिसियन, स्काफोल्डिङ, हाउस पेन्टर, किचेन हेल्पर, सुरक्षा गार्ड, वेटर वेट्रेस, सुरक्षा गार्ड, हाउस किपिङ, टायल मार्बल कटिङ फिटिङ, ब्युटिसियन, आलुमुनियम फेब्रिकेटरको तालिम प्रदान गरिहेका छौँ ।

यी तालिम वैदेशिक रोजगारीबाट फर्किनुभएका र केही सीप सिकेर वैदेशिक रोजगारीमा जाने दुवैको लागि हो । हामीले अझै वैदेशिक रोजगारीबाट कोरोना लगायतका कारणबाट समस्यामा परेर, रोजगारी गुमाएर फर्किएकाहरुलाई बढी लक्षित गरेका छौँ ।

देशमै सीप सिकेर स्वरोजगार बन्छौँ र यहीँ काम गर्छौैँ, यहीँ परिश्रम गरेर बस्छौँ भन्नेलाई प्राथमिकताका साथ राखेका छाैँ । दुर्गम क्षेत्र, महिला, आर्थिक विपन्न, दलित, जनजातिहरु पनि प्राथमिकतामा पर्नुहुन्छ । त्यही आधारमा हामी सहभागी छनौट गर्छौँ । त्यसको आधार भनेको वडाले किटानी सिफारिस गरेको हुनुपर्छ । चाहे विदेशबाट दुःख पाएर फर्किएको होस्, चाहे विपन्न वर्ग होस् वडाको सिफारिस त चाहिन्छ नै ।

पालिकास्तरमै सीप तालिम

पालिकास्तरमा मागको आधारमा तालिम सञ्चालन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले तालिम ‘इम्पोज’ गर्ने होइन, ‘सप्लाइ बेस’मा गर्ने होइन ‘डिमाण्ड बेस’मा गर्ने हो । अथवा स्थानीय तहबाट माग भइआएको संख्या र तालिमको प्रकारको आधारमा सञ्चालन गर्ने हो । स्थानीय तहले नै यो यो तालिम सिक्न चाहने यति छन् र ती तालिम सञ्चालन गर्नको लागि आफूसँग पूर्वाधार छ भनेको खण्डमा तालिम प्रदायक संस्थाले स्थानीय तहमै गएर तालिम दिनुहुन्छ । तालिम दिइसकेपछि निःशुल्क सीप परीक्षण पनि हुन्छ ।

सम्भव भएसम्म हामीले स्थानीय तहलाई तालिम वडा तहमै गएर सञ्चालन गर्न भनेका छौँ । धेरै ठाउँमा तालिमहरु त्यसरी नै सञ्चालन भइरहेका छन् । कतिपय तालिमहरुको हकमा, पूर्वाधारको अभावका कारण तालिम संस्थासम्मै पुग्नुपर्ने पनि हुन्छ ।

(वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठसँग गरेको कुराकानीमा आधारित)


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजनप्रसाद श्रेष्ठ

श्रेष्ठ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया