जाडोको समयमा दुर्घटनाको जोखिम धेरै, सावधानी अपनाऔँ

 पुस १६, २०७८ शुक्रबार ७:१७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जाडोयाममा सडक दुर्घटना धेरै हुने भएकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीको अनुरोध छ । जाडो मौसममा लाग्ने बाक्लो हुस्सु, कुहिरो सँगै शीतलहरले सडक दुर्घटनाको जोखिम बढाउने गरेको छ ।

शीत, तुसारो, हिमपातले सडक चिप्लो र हिलो बनाइदिन्छन्। हुस्सु, तुवाँलोको कारण भिजिबिलिटी कम हुन जान्छ । यसले गर्दा दुर्घटनाको जोखिम धेरै हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले  जनाएको छ ।  महाशाखाकाअनुसार मौसमी अवस्थामा हुस्सु र तुवाँलो नै सडक दुर्घटनाका प्रमुख कारण हुन् ।

सामान्य सावधानी अपनाए पनि दुर्घटनाबाट जोगिन सकिने ट्राफिक प्रहरीको भनाइ छ । चालकले सडक र सडकमा भएका अन्य गतिविधिसँगै मौसमी अवस्थाका बारेमा चनाखो भइ नियन्त्रित गतिमा गाडी चलाए दुर्घटनालाई रोक्न सकिन्छ ।

यस्तै,  सडकमा हुने सूचना र निर्देशन चिह्नकाे पालना पनि गर्नु पर्नेछ ।

आफूभन्दा अगाडिको गाडीसँग दूरी राख्ने गर्नु पर्दछ भने ओभरटेक गर्दा समेत ख्याल गर्नुपर्दछ । गाडी चलाउनु अघि इन्जिन ठिक छ, छैन विचार गर्नुपर्दछ भने चिसोबाट हात कठ्याङ्ग्रिन नदिन पञ्जा लगाउनु पर्दछ । त्यसैगरी यात्रु र बटुवाले पनि आफू हिँड्ने बाटोको अवस्थाबारे जानकारी राख्नु पर्दछ ।

सकेसम्म हुस्सु, कुहिरो लाग्ने समयमा मर्निङवाक गर्दा वा सडक छेउमा हिँड्दा टल्किने ज्याकेट लगाउनु पर्छ । कानमा इयर फोन लगाएर गीत सुन्दै वा अन्य सामग्री सुन्दै हिँड्नु हुँदैन । यसो गरेमा जाडोयाममा हुने दुर्घटनालाई रोक्न सकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया