भरतपुरमा मतगणना स्थलकाे सुरक्षा : फलामको बार, बलियो तारजाली

 बैशाख २९, २०७९ बिहिबार १५:७:१७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भाेलि शुक्रवार हुने पालिका चुनावकाे मतगणनाका लागि चितवनको भरतपुर महानगरपालिकाकाे मतगणना स्थलमा फलामको बार र तरजाली लगाइएको छ । गएकाे पालिका चुनावमा मतपत्र च्यातिएको घटनाका कारण यस पटक भरतपुरको मतगणना स्थलकाे सुरक्षामा विशेष ध्यान दिइएकाे छ । 

भरतपुरलाई राजनीतिक दलहरूले प्रतिष्ठाको विषय नै बनाएका छन् । २०७४ मा मतगणनाका क्रममा मतपत्र च्यातिएको विषय अझै पनि चर्चामा छ । विगतमा मतगणना स्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणना स्थलमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले बताएको छ ।

आयोगले मतगणना स्थलमा अनिवार्य सीसी क्यामराको व्यवस्था गर्न निर्देशन पनि दिएकाे छ । यसपालि भरतपुर महानगरपालिकाको मतगणना चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।

प्रदर्शनी केन्द्रको 'सी' ब्लकमा मतगणनाका लागि व्यवस्थापन गर्ने काम धमाधम भइरहेको छ । दलका प्रतिनिधिले मतपत्र च्यात्न नपाऊन् भनेर मतगणना स्थलमा फलामको बार हालिएको छ । दलका प्रतिनिधि बस्ने ठाउँ छुट्टयाएर फलामको बार लगाइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली पनि हालिएको बताउनुभएको छ । मतगणना स्थलमा आठ वटा सीसी क्यामरा जडान गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

अकस्मात् बिजुली गएको खण्डमा स्वचालित जेनेरेटरको समेत व्यवस्था गरिएको छ । पूर्वसावधानीका सबै उपाय अपनाइएका छन्, सूचना अधिकारी पाैडेलले भन्नुभयाे । २९ वटा वडा रहेको भरतपुरमा एक लाख ८५ हजार जना मतदाता रहेका छन् । यहाँ मतदानका लागि ६५ मतदान स्थल र दुई सय दुई वटा मतदान केन्द्र रहेका छन् ।

गएकाे पालिका चुनावमा मतगणनाको क्रममा भएको घटना दोहोरिन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभएको छ । भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया