देशका धेरैजसो ठाउँमा वर्षा, सुदूरपश्चिमका केही ठाउँमा बाढी

 भदौ २५, २०७९ शनिबार ७:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अहिले देशका धेरैसजो ठाउँमा पानी परिरहेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा रातिदेखि नै ठूलो पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गए रातिदेखि नै डडेल्धुरा, बाजुरा, डोटी, कञ्चनपुरलगायतका ठाउँमा ठूलो पानी परिरहेको छ ।

पछिल्लो ६ घण्टामा डडेल्धुरामा ८० मिलिमिटर पानी परेको छ । यस्तै बाजुरामा ३५ मिलिमिटर र ताप्लेजुङमा ६६ मिलिमिटर पानी परेको छ । मनसुनी वायु र भारतबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही दिनयता लगातारजस्तै पानी परेको छ ।

आज दिउँसो पनि मधेस प्रदेश र प्रदेश १ बाहेक बाँकी सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । दिउँसो केहीबेर घाम लागेर मौसम खुले पनि त्यसपछि फेरि पानी पर्ने सम्भावना छ । आज राति पनि सुदूरपश्चिम प्रदेश, लुम्बिनी र बाग्मतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यसैबीच ठूला पानी परेका ठाउँमा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो तीन–चार घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

डडेल्धुराको गैबन्दे, कञ्चनपुरको केही क्षेत्र र दैलेखको ग्वाँटी आसपासको क्षेत्रमा ठूलो पानी परेकाले यी ठाउँ भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम भएकाे हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । लोहोरेखोला, रंघुन, चौधरलगायतका साना नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना भएकाले नदी तटीय क्षेत्रमा र पहिरो जानसक्ने भिरालो जमिनमा बस्ने नागरिकलाई आज बिहान ९ बजेसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया