जय ट्रफी एलिट कप क्रिकेटमा दुई वटै खेल बराबरीमा सकियो
पुस २२, २०८१ सोमबार
चितवन – भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशतमात्र काम सम्पन्न भएको छ ।
पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुई पटक भत्कियो । त्यस क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयवासीले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए तर सुनुवाइ भएन ।
पुल निर्माण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माण पर्याप्त बजेट विनियोजन नहुँदा र दुई पटक भत्किएका कारण ढिला भएको बताउनुभयो । उहाँले सडक डिभिजन कार्यालयको लापर्बाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो गर्नुभयो । ‘निर्माण समितिका तर्फबाट पटक–पटक दबाब दियौँ’, उहाँले भन्नुभयो, ‘प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझायौँ तर पुल निर्माणले गति लिन सकेन ।’ उहाँले चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरूको संयोजकत्वमा समिति निर्माणसमेत भएको भन्दै त्यसले पनि निकास दिन नसकेको बताउनुभयो । पौडेलले कात्तिकदेखि धमाधम काम नगरे उपभोक्ता समिति सङ्घर्षमा आउने उहाँले चेतावनी दिनुभयो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पुल निर्माणमा गम्भीर लापर्बाही गरिएको बताउनुभयो । उहाँले पाँच वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अलपत्र पारेर छाडिएको बताउनुभयो । देवघाट–५ तनहुँका मानबहादुर गुरुङले अब त पुल निर्माण हुन्छ भन्नेमा नै शङ्का लाग्न थालेको बताउनुभयो । यतिका वर्षसम्म पनि एउटा पुल निर्माण हुन नसक्नुमा यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारीको उदासिनता भएको उहाँले बताउनुभयो । पुल निर्माण नहुँदा भरतपुर र देवघाट आवतजावत गर्न दासढुङ्गा पुग्नुपर्ने बाध्यता रहेको गुरुङको भनाइ छ ।
चितवन र तनहुँमात्रै नभएर बाग्मती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८ दशमलव ५ मिटर फराकिलो र दुई सय २० मिटर लामो छ । डिजाइनअनुसार पुलका चार वटा स्पान रहने र त्यसमा कङ्क्रिटका ४०–४० मिटरका तीन वटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ । चितवन ठिमुरातर्फ दुई वटा र देवघाटतर्फ एउटा कङ्क्रिटको स्पान रहनेछ ।
त्रिशूली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० गते तीन वटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्तरूपमा लिएका हुन् । सम्झौताअनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९) मा पुल बन्नु पर्थ्यो ।तर पटक–पटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ । यो बीचमा चार–पाँच पटक म्याद थप गरिसकिएको छ ।
सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले सबै कुराको अनुकूल भए यस वर्ष पुल निर्माणको काम सकिने बताउनुभयो । उहाँले निर्माण कम्पनी पनि काम गर्न तयार रहेको भन्दै नदीमा पानी नघटेकाले काम सुरु गर्न नसकिएको बताउनुभयो । ‘भूकम्प, नाकाबन्दी र कोरोनाका कारण पुल निर्माणमा असर पर्यो’, उहाँले भन्नुभयो, –यो बीचमा दुई पटक भत्किएर तत्काल काम गर्नसक्ने अवस्था भएन । सम्झौता हुँदा पुलको निर्माण लागत १९ करोड १० लाख रहेकोमा अहिले बढेर २१ करोड ६८ लाख रुपैयाँ पुगेको सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।