पश्चिमी वायुकाे प्रभावले देशभर चिसाे बढ्याे, याे हप्ता माैसम यस्तै रहने

 कात्तिक ११, २०७९ शुक्रबार १६:५९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ । 

आज शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गएको हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताउनुभएको हो । तापक्रम घटेका कारण चिसो महसुस भएको उहाँले बताउनुभयो । उहाँले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तर–पश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘बिस्तारै गर्मी समय सकिएर जाडोयामतिर छिर्दैछौँ । यो गर्मी सकिएको र जाडो आउन लागेको अवस्था हो । अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन । यद्यपि मनसुन सकिएदेखि गएको हप्तादेखि नै देशभरिको तापक्रम घट्दै गएको छ । तापक्रम यही किसिमले घट्दै जान्छ भन्ने त छैन । कहिलेकाहीँ त्यही रेन्जमा रहने, कहिलेकाहीँ एकदुई डिग्री बढ्ने पनि रहन्छ ।’ 

वरिष्ठ मौसमविद् पौडेलले तुलनात्मकरूपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने जानकारी दिनुभयो । अक्टोबर र नोभेम्बर महिनामा तापक्रम यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने उहाँले बताउनुभयो ।

उहाँले मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वाभाविक भएको बताउनुभयो । उहाँले आउँदो एक हप्ता भने पानी पर्ने सम्भावना नरहेको बताउनुभयो । जाडो बढ्ने र घट्ने कुरा भने हावाको बहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उहाँको भनाइ छ । 

वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताउनुभयो । शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न उहाँको सुझाव छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया