मौसम धुम्मिन्छ तर किन पानी पर्दैन ?

भिजिबिलिटी घट्दा उडान अवतरणसमेत प्रभावित

 फागुन १९, २०७९ शुक्रबार ८:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - एक हप्तायता धेरै ठाउँको मौसम धुम्मिरहेको छ । बिहान मात्रै नभएर दिउँसोको समयमा पनि मौसम सफा छैन ।  मौसम पानी पर्ला जस्तो हुन्छ, तर पर्दैन।

किन न त – मौसमविद् मञ्जु बासी भन्नुहुन्छ : ‘पश्चिमी वायुको प्रभावका कारण वायुमण्डलमा जलवाष्पयुक्त हावा थुप्रिएको छ । तर, पश्चिमी निम्न चापीय प्रणाली कमजोर हुँदा पानी पर्न सकेको छैन । यसले गर्दा जमिनका धुवाँधुलो उडेर वायुमण्डलमा रहेको पानीमै मिसिरहेको छ । यसले गर्दा मौसम धुम्म भइरहेको छ ।’ पश्चिमी निम्न चापीय प्रणाली पानी पार्ने गरी सक्रिय नहुँदा यसपालि हिउँदमा खासै पानी पर्न सकेन । पानी नपर्दा प्रदूषण बढेको छ ।

गाडीबाट निस्किएका धुवाँसहित धुलोका कणहरु वायुमण्डलमा रहेका पानीका कणहरु टाँसिन थालेकाले भिजिबिलिटीसमेत घट्न थालेको छ । आज पनि धेरै ठाउँको मौसम धुम्म छ भने भिजिबिलिटी घटेको छ । मौसमविद् मञ्जु बासीका अनुसार बिहानको भिजिबिलिटी १५ सय मिटर मात्रै छ । यसले गर्दा उडान अवतरण प्रभावित भएको छ । त्रिभुवन विमानस्थलबाट बिहानको समयमा हुने उडान अवतरण प्रभावित भएका छन् ।  भिजिबिलिटी १५ सय मिटरसम्ममा अवतरण गर्न सक्ने दुई वटा अन्तर्राष्ट्रिय उडानका जहाज  बिहान  त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् । तर उडान भने सुरु हुन सकेको छैन । भिजिबिलिटी बढ्दै गएपछि मात्रै उडान थाल्ने विमानस्थल कार्यालयले जनाएको छ ।

पश्चिमी निम्न चापीय प्रणालीकै प्रभावका कारण आज दिउँसो पछि पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान छ । भोलि भने यो प्रणाली केही सक्रिय हुने मौसमविद्को अनुमान छ । भोलि आजकाे भन्दा धेरै ठाउँको मौसम बदली हुने र केही ठाउँमा हल्का  वर्षा हुन सक्ने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया