बिहानैदेखि मेघगर्जनसहित वर्षा : सुदूरपश्चिममा चट्याङ, तराईमा हावाहुरी

 चैत ७, २०७९ मंगलबार ८:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज बिहानैदेखि धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

देशभरकै मौसम बदली  भइ मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि मेघगर्जन र चट्याङ परेको छ । अन्य क्षेत्रमा मेघगर्जन भए पनि सुदूरपश्चिममा जोखिम धेरै देखिएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा चट्याङको जोखिम धेरै रहेकाले सावधानी अपनाउन आग्रह गरिएको  छ । चट्याङ परेका बेला सम्भव भएसम्म घरभित्रै बस्नु सुरक्षित हुन्छ । घरबाहिर भए पनि सुरक्षाको उपाय अपनाउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार चट्याङ परेका बेला घरभित्रको विद्युतीय उपकरणको स्वीच अफ गर्नु पर्छ । यस्तै, टीभी, कम्प्युटर आदिको तार तथा धातुबाट बनाइएको झ्याल–ढोका आदिलाई छोएर बस्नु हुँदैन भने अग्लो एवम् खुला डाँडा, टावर, छत, रुख आदिमा नबस्न उहाँको सुझाव छ । उहाँका अनुसार भुइँमा सुत्नु, भित्तामा अडेसिनु पनि जोखिमयुक्त हुन सक्छ ।

चट्याङ परिरहेको बेलमा धारा खोलेर पानीको प्रयोग गर्नु पनि जोखिमपूर्ण हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको हो ।

यस्तै, तराईका जिल्लामा आज हावाहुरीसहित वर्षा हुने अनुमान गरिएको छ ।  गएराति पनि काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको थियो । लगातारजसो मौसम बदली भइ पानी परिरहेकाले चिसो भएको छ । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्ने जाने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया