काठमाण्डाै उपत्यकासहित देशभरकाे वायु प्रदूषण अझै ३ दिनसम्म कायमै रहने

 वैशाख ३, २०८० आइतबार २०:२३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने भएको छ ।

प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाले जनाएको छ ।

यस्तै वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवाँसँगै पानी पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताउनुभयो । उहाँले स्याटलाइट इमेज हेर्दा काठमाण्डाै उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको बताउनुभयो । बारा, पर्सा र चितवनबाट बाग्मती काेरिडोर हुँदै काठमाण्डाैमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाण्डाै उपत्यकामा प्रदूषणको मात्रा बढेको बताउनुभयो ।

यसैबीच विज्ञहरूले प्रदूषणबाट जोगिन सावधानी अपनाउन आग्रह गरेका छन् । वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूको सुझाव छ ।

जलवायु तथा विपदविज्ञ डा. धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताउनुभयो । उहाँले प्रदूषण हट्न अझै केही दिन लाग्ने पनि बताउनुभयो । उहाँले केही दिनका लागि धुँवा निकाल्ने गाडी र मापदण्ड पालना नगरेका गाडी सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले सडक निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्र गर्न र कालोपत्र गर्न नसके सडक भत्काउने काम बन्द गर्नुपर्ने बताउनुभयो ।

उप्रेतीले वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सरलगायतका समस्याहरू बढ्ने बताउनुभयो ।

यसैबीच प्रदूषित हावाका कारण देशैभर हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण आन्तरिक विमानस्थलहरूको उडान प्रभावित बनेको हो । काठमाण्डाैमा अन्तर्राष्ट्रिय उडानहरू भने सामान्य भइरहेका छन् ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया