मनसुनी वर्षा : अहिलेसम्म सरदरको साढे ४३ प्रतिशतमात्रै वर्षा, अब केही दिन देशभर पानी पर्ने सम्भावना

 साउन १४, २०८० आइतबार १८:८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – यस वर्ष जेठ १८ गतेदेखि आज आइतवारसम्ममा गएको वर्षको तुलनामा झन्डै १५ प्रतिशतले कम पानी परेको छ । गएको वर्ष जेठ १८ गतेदेखि साउन १४ गतेसम्ममा सात सय ५३ दशमलव १६ मिलिमिटर पानी परेकोमा यस वर्ष त्यही अवधिमा छ सय ४३ दशमलव दुई मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाले जनाएको छ ।

यस वर्ष आजसम्म परेको पानी मनसुन अवधिभर हुने सरदर वर्षाको तुलनामा ४३ दशमलव सात प्रतिशतमात्रै हो । नेपालमा मनसुन अवधि अर्थात् जेठ १८ देखि असार १३ गतेसम्ममा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुन्छ । यस वर्ष मनसुन शुरु हुने बेलैमा मौसमविद्हरूले सरदरभन्दा कम पानी पर्ने अनुमान गरेका थिए । अहिलेसम्म अनुमानअनुसार नै कम पानी परेको हावापानी विश्लेषण शाखाका मौसमविद् सुदर्शन हुमागाईं जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म विशेषगरी तराईका भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ । ओखलढुङ्गा, जिरी र जोमसमका मौसम मापन केन्द्रको तथ्याङ्कमा भने सरदरभन्दा बढी वर्षा भएको छ । ताप्लेजुङ, काठमाण्डाै, पोखरा, दिपायल र जुम्लामा सरदरको हाराहारीमा वर्षा भएको छ । सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र सुर्खेतमा सरदरभन्दा कम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशााले मुख्यगरी देशभरका विभिन्न २० मौसम मापन केन्द्रको तथ्याङ्कका आधारमा मौसम पूर्वानुमान गर्दै आएको छ ।

नेपालमा मनसुन यस वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै दुई हप्ता लागेको थियो । मनसुन प्रभावकारी नहुँदा पछिल्लो एक हप्ता राम्रोसँग वर्षा हुन सकेको थिएन । विगत दुई दिनयता भने देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज मनसुनको न्यून चापीय रेखा पश्चिमी क्षेत्रमा सरदरभन्दा उत्तरतर्फ र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । न्यून चापीय रेखा सरदर स्थानमा रहँदा मनसुन सक्रिय हुन्छ भने उत्तरतर्फ सर्दै जाँदा वर्षा हुने सम्भावना पनि बढ्दै जान्छ । आज राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबका केही दिन देशभर वर्षा हुने सम्भावना रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया