कुवेतमा कम्पनीको काम भनी घरेलु काममा साउदी पुर्‍याइएका चार महिलाको उद्धार गरी दूतावासले पठायो नेपाल

 साउन २५, २०८० बिहिबार १२:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतमा कम्पनीको कामको प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पुर्‍याइएका चार नेपाली महिलाको उद्धार गरी त्यहाँ रहेको नेपाली दूतावासले नेपाल पठाएको छ ।

साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुर्व्यवहार भोगिरहेका उनीहरूलाई उद्धार गरी तीन महिना सेल्टरमा राखेर बुधवार स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

कम्पनीको काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई उनीहरूलाई भारत हुँदै कुवेत पुर्‍याइएको थियो । कुवेतमा केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेण्टले उनीहरूलाई साउदी अरब पुर्‍याईएका थिए ।

साउदीमा उनीहरूलाई झण्डै सात वर्षसम्म घर मालिकले बिना तलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको दूतावासले जनाएको छ ।

दैनिक १८ घण्टासम्म आफूले काम गर्न परेको र तलब नपाएपछि घर फर्कन्छु भन्दा उल्टो कुटपिटका साथै अमानवीय र अभद्र व्यवहार भोग्न परेको उनीहरूले बताएका छन् । 

दूतावासका अनुसार लामो समयदेखि साहुको यातना सहेका उनीहरूको अवस्था गम्भीर थियो ।

 तीन महिनासम्म चारै जनालाई दूतावासले खाने बस्ने सुविधासहित सेल्टरमा राखेको थियो । यसबीचमा दूतावासले साउदीको घरेलु कामदार कार्यालयसँग समन्वय गरी उनीहरूको स्वदेश फिर्तीको लागि कानुनी प्रक्रिया मिलाएर बहिर्गमन भिसा लगाएको थियो । 

नेपाल फर्कन मिल्ने बहिर्गमन भिसा लागेपछि हिमालय एयरलाइन्समार्फत दूतावासले बुधवार उनीहरूलाई नेपाल फर्काएको छ । उनीहरूको टिकटको व्यवस्था भने साउदीमा रहेको प्रवासी नेपाली मञ्चले गरेको हो ।

सरकारले प्रतिबन्ध लगाएको काममा महिलाहरूलाई विभिन्न तरिका र माध्यमको प्रयोग गरी एजेण्टहरुले गैरकानुनी रूपमा खाडीका विभिन्न देशमा पुर्‍याउने गरेको छन् ।

कतिपयलाई कम्पनीकै काममा भनेर लैजाने र गन्तव्यमा पुगेपछि प्रतिबन्धित घरेलु काममा लगाउने गरेको समेत पाइएको छ ।

पछिल्लो समय यसरी लैजाने क्रम बढेको भन्दै गैरकानुनी रूपमा एजेण्टको भर परी नआउन दूतावासले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया