नेपालमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्न : अर्थमन्त्री महत

 साउन ३१, २०८० बुधबार १४:२८:५३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको 'इन्टरप्रेनशिप मोटिभेशन कन्क्लेभ' लाई सम्बोधन गर्दै उहाँले विदेश जानेबित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरूलाई मुक्त गर्न जरुरी छ भन्नुभयो ।

‘हामीकहाँ विकास हुन बाँकी छ । यस कारण यहाँ अवसर प्रशस्त छ । विदेशमा सबै भौतिक सुविधा हुँदा पनि त्यहाँ खुसी छैन, बाहिरबाट सबै सुविधा देखिए पनि भित्र खोक्रो छ’, अर्थमन्त्री महतले भन्नुभयो, ‘अवसर हेर्ने सुक्ष्म आँखा चाहियो यही अवसर खोज्नेलाई सरकारले अनुदान, सस्तो ऋण, कर छुटलगायतका सुविधा दिइरहेको छ । अहिले युवाहरूमा विदेश गएन भने आफ्नो हैसियत सानो र कमजोर भएको भन्ने गलत सोचाइ हाबी हुँदै गएको छ, जुन चिन्ताको विषय हो ।’

अर्थमन्त्री महतले देशको अर्थतन्त्र लयमा फर्किएको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच राख्नुपर्छ भन्नुभयो ।  उहाँले विदेशमा आर्जित पुँजी र सीप नेपालमा प्रयोग गर्न जोड दिनुभयो । अहिले पर्यटन क्षेत्र सुधार हुँदै गएको र सूचना प्रविधिका क्षेत्रमा पनि नेपालको राम्रो सम्भावना देखिन थालेको उहाँले बताउनुभयो । 

चालु आर्थिक वर्षको बजेटबाट सरकारले सूचना प्रविधि क्षेत्रको सेवा निर्यातका लागि सहजीकरण गरेको अर्थमन्त्रीले बताउनुभयो । अहिले प्रविधिको प्रयोगले बजारीकरण गर्न सजिलो भएको उहाँको भनाइ छ ।

आर्थिक विकास, उद्यमशीलता र रोजगारी अवसर र चुनौती शीर्षकको पहिलो सत्रमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले उद्यमशीलता भनेको व्यक्तिको क्षमतामा निहीत हुने र त्यस्तो क्षमता सिकाइमा भरपर्ने बताउनुभयो । उद्यमशीलता विकासका लागि व्यक्तिको क्षमता विकास महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । उद्यमशीलता प्रवर्धनका लागि सरकारले लिएका नीति र योजनाको लाभ युवाले पाउन नसकेको पनि पूर्व अर्थमन्त्री खतिवडाले उल्लेख गर्नुभयो ।

त्यही कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले युवा लक्षित उद्यमशीलता कार्यक्रमका लागि बैंकिङ क्षेत्रले १० प्रकारका सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले महिला उद्यमशीलता, शैक्षिक प्रमाणपत्र धितो कर्जालगायत विना धितो कर्जाका कार्यक्रम सञ्चालन भइरहेकोमा त्यसको लाभ युवाहरूले लिनसक्नुपर्छ भन्नुभयो ।  उद्यमशीलता लक्षित कर्जा कार्यक्रमको उपलब्धि लक्ष्य अनुरूप नदेखिएको उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया