मध्य र पूर्वी क्षेत्रमा पर्सि शनिवारसम्मै बदली र वर्षाको सम्भावना

 चैत ८, २०८० बिहिबार ९:१८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रमा पर्सि शनिवारसम्म बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीका अनुसार भोलि मौसममा थोरै सुधार देखिए पनि पर्सि फेरि बदली भएर केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । अबको तीन दिनसम्मै मौसम बदली भएर छिटपुटदेखि हल्का पानी पर्न सक्ने मौसमविदले बताएका छन् ।

काठमाण्डौ उपत्यकामा अहिले मौसम केही खुले पनि दिउँसोपछि फेरि पानी पर्न सक्ने मौसमविद अधिकारीले बताउनुभयो । गएराति र बिहान पनि काठमाण्डौ उपत्यकासहित बागमती प्रदेशका केही ठाउँ तथा कोशी र मधेश प्रदेशका धेरै ठाउँमा हल्का पानी परेको छ ।

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद अधिकारीले जानकारी दिनुभयो । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो । महाशाखाका अनुसार विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको छ ।

यस्तै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ ।  सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया