नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

 फागुन १४, २०७५ मंगलबार १५:४०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । 

निर्वाचन समिति र अनुशासन समिति गठनका लागि मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको पार्टी केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो ।

दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले आज बोलाइएको पार्टी केन्द्रीय कार्य समितिको बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

मंगलबार पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन प्रयास गर्ने सहमति भएपछि केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो । 

आइतबार बहुमतको आधारमा विधान पारित भएपछि वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्ष सभापति देउवासँग चिढिएका थिए । दुवै पक्षले सहमतिको आधारमा दुवै समिति गठन नगरे केन्द्रीय कार्य समिति बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि कांग्रेस केन्द्रीय कार्य समितिको आज बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ । 

शीर्ष तहको बैठकमा सभापति देउवाले निर्वाचन समिति र अनुशासन समिति गठन कार्यलाई सर्वसम्मतिमै टुंग्याउने प्रतिवद्धता जनाउनु भएको थियो ।

प्रवक्ता शर्माले पार्टीको निर्णयलाई सहमतिकै आधारमा अघि बढाउन आवश्यक गृहकार्य गरेपछि केन्द्रीय कार्य समितिको अर्को बैठक बोलाउने पनि जानकारी दिनु भयो । पार्टीको औंपचारिक कार्यक्रमलाई ध्यानमा राखेर पनि अब बस्ने केन्द्रीय कार्य समिति बैठकको टुंगो लगाउने नेपाली कांग्रेसले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया