पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी ए...
मंसिर ९, २०८१ आइतबार
बाआमा बस्ने गाउँ रित्तो छ, छोराबुहारी बस्ने शहर भरिभराउ छ । गाउँमा गाईभैंसी बाँध्ने गोठ छैन, शहरमा दूधदही खाने ओठ छ । गाउँमा दूधदही दिने गाईभैंसी छैन, शहरमा दूधदही पाउने डेरी छ । गाउँमा रोपाईंको सुरसार नै छैन, शहरमा रोपाईंको तामझाम छ ।
कुलोमा पानी छैन । खेतमा हिलो छैन । आकाश हेर्दाहेर्दै रिंगटा लागिसक्यो । मूल फुट्ने गरि पानी परेको छैन । कहिले पानी पर्ला, खोलो सुसाउला, खेत हिलो होला र रोपाईं गरौंला भन्ने गाउँमा चिन्ता छ । तर शहरमा यी केहीको चिन्ता छैन । पानी नभए पनि एकछिन हिलो छोएर दहीचिउरा हसुर्ने बानी भएकाहरुको जमघट छ । हिलो खेलेको र दहीचिउरा खाएको फोटो फेसबुकमा राखेर रमाउनेहरुको ताँती छ ।
शहरमा रोपाईं गर्नको लागि मूल फुट्ने गरी पानी पर्नु पर्दैन, पैतला डुबाउने छिपछिपे हिलो भए पुग्छ । छिपछिपे हिलोमा एकछिन पैतला डुबाएर रमाइलो गर्न मन्त्री र अरु सुकिला मुकिला जम्मा हुन्छन् । आइरन लगाएको पाइन्ट अलिकति माथि सारेर सिकसिक गर्दै हिलोमा पस्छन् । यसले उसलाई, उसले यसलाई हिलो छेप्छन् ।
होली खेलेजस्तो रमाइलो । जात्रामा जिस्किएजस्तो रमाइलो । एकअर्कालाई छुन मौका हेरेर बसेका ठिटाठिटीले मौकामा चौका हानेजस्तो रमाइलो । मेहनत र पसिनाबिनाको रमाइलो । क्षणिक आनन्दको लागि, फेसबुकमा फोटो राख्नको लागि रमाइलो ।
धान फलोस्, नफलोस् चिन्ता हुन्न । एकछिनलाई रमाइलो गर्ने हो, धान दिवस मनाइयो भनेर देखाउने हो । सेल्फी खिच्ने हो । फेसबुकमा फोटो राख्ने हो । बस् यति भएपछि पुग्छ । चामल त पसलमा किन्न पाइन्छ, खेतमा फले नफलेको कसले वास्ता गरिरहोस् !
शहरमा चामल मात्रै होइन, दही र चिउरा पनि किन्न पाइन्छ । गाउँमा गाईभैंसी पाल्ने चलन हराए पनि शहरमा दूध, दहीको छेलोखेलो कम भएको छैन । खेतमा भन्दा फेसबुकमा धान रोप्ने मान्छे धेरै भए पनि बजारमा चामल र चिउराको ढुवानी रोकिएको छैन ।
शहरमा गाउँका खेतमा फलेको हैन, गाडी चढेर बिदेशबाट चामल र चिउरा आउँछ । खेतमा पसेर धान रोप्ने र गोठमा गाईभैंसी बाँध्ने जाँगर नभए पनि गोजीमा पैसा हुनेलाई के को पीर ! पैसा बोकेर पसल गएपछि दही पनि पाइन्छ, चिउरा पनि ।
कार चढेर अफिस पुगेको श्रीमानलाई श्रीमती फोनमा भन्छिन् – ‘भरे फर्किंदा दुई लिटर दही र एकहाता केरा लेराउनुहोस् है ।’ बोर्डिङ पढ्ने छोराछोरीले सोध्छन् – ‘आज किन दहीचिउरा खाने ?’ आमा जवाफ दिन्छिन् – ‘आज १५ असार हो नि, धान दिवस । त्यसैले दही चिउरा खानुपर्छ ।’
‘अनि दही र चिउरा कहाँ पाइन्छ, के बाट बन्छ ?’ भाइले सोध्ने बित्तिकै दिदी भन्छिन् – ‘पसलबाट । दही डेरीमा पाइन्छ, अनि चिउरा चाहिँ बोरामा आउँछ ।’ सुनेर आमा खिस्स हाँस्छिन्, दंग पर्छिन् । उनले पनि धान रोपेको, गोडेको, गाईभैंसी पालेको, घाँसभकारो गरेको बिर्सिसकेकी छिन् ।
शहरका घरमा मात्र होइन, कार्यालयमा पनि उसैगरी दहीचिउरे रमाइलो हुन्छ । साथीहरु भन्छन् – ‘आज खाजा दहीचिउरा खाने है ।’
अनि कार्पेटमा पलेंटी मारेर बस्छन् । सोफामा खुट्टा हल्लाएर पर्खन्छन् । प्लेटमा चिउरा, कचौरामा दही, छेउमा रसबरी र केरा । न हिलो, न पानी, न बाउसे, न रोपाईं । ‘खै खै मैले केरा नँग्याउँदै गरेको फोटो आउने गरी सेल्फी हान त उताबाट’ एउटाले यताबाट मुख चुच्चो पार्छ । ‘ल ल मेरो पनि आओस् है’ अर्कोले उताबाट चम्चा तेर्साउँछ । ‘ल ल फेसबुकमा अपलोड गरिहालौं, १५ असार मनाइयो भनेर’ सोफा र कार्पेटमाथि उफ्रँदै दंग पर्छन् ।
गाउँमा बाआमालाई कसैले फेसबुकमा फोटो देखाउँछ । ‘ए शहरमा छोराबुहारीले त १५ असार मनाएछन् नि’ बाले आमालाई फोटो देखाउँछन् । ‘ए उता पानी आयो होला, मूल फुट्यो होला, अनि मनाए नि १५ असार’ आमा दंग पर्दै भन्छिन् । ‘छोराबुहारीले घडेरी किने भन्थे, रोपाईं गर्ने खेत पनि किनेछन्’ बा दंग पर्छन् ।
‘छोराबुहारी खेतीकिसानी गर्न अल्छी गर्छन् भन्नुहुन्थ्यो नि, ल हेर्नुहोस् शहरमा बसेर पनि रोपाईं गरेका छन्, हिलो खेलेका छन्, दही चिउरा खाएका छन्’ आमा दंग पर्दै बालाई हेरेर भन्छिन् ।
‘होला त खै यहाँ त रोपाईं गर्न पुग्ने गरी पानी परेको छैन, कसरी हिलो खेल्नु ? रोपाईं नै नगरी के स्वादले दही खानु ?’ बा टोलाउँछन् । खेततिर हेर्छन् । खेत बाँझै छ । आकाशबाट पानी त परेको छ, तर खोला बढेको छैन । खोला नबढी कुलोमा पानी आउँदैन । कुलोमा पानी नआइ खेत भिज्दैन । खेत नभिजी कसरी रोपाईं गर्नु ?
रोपाईं नगरी कसरी दहीचिउरा खानु ? कसरी १५ असार मनाउनु ? अनि फेरि फेसबुकमा फोटो देख्छन् – मन्त्री र सरकारका मान्छेहरुले रमाइलो गर्दै, हिलो खेल्दै रोपाईं गरेको, धान दिवस मनाएको, दहीचिउरा खाएको । दहीचिउरे सेल्फी हानेको ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
nisha
June 30, 2019, 3:20 p.m.शहरमा गाउँका खेतमा फलेको हैन, गाडी चढेर बिदेशबाट चामल र चिउरा आउँछ । मन छोयो