पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी ए...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - अग्रणी शहीदहरुका तस्बिरसहित “...उडायो सपना सबै हुरीले” शीर्षकको आलेख छापिएको पत्रिकाको पन्नासहितको फ्रेम कुनै दिन नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा-परिषद् कार्यालयको भित्तामा सजाइएको हुन्थ्यो ।
वर्तमानमा त्यही गीतको बोल जस्तै प्रजा-परिषद्को सपना हुरीले उडाएकोे लाग्दैछ, ८४ वर्ष पुरानो दलका कार्यवाहक अध्यक्ष शैलेन्द्र भारद्वाजलाई । वि.सं. १९९३ सालमा स्थापित नेपाल प्रजा-परिषद्का सम्पूर्ण अभिलेख, ऐतिहासिक दस्तावेज साथै निर्णय पुस्तिका यतिबेला सयौँ वर्ष पुराना सन्दूक र ट्याङ्काहरुमा बन्द गरिएका छन्।
पाँच जना संस्थापकहरुमध्ये तीनजना धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ १९९७ सालमै शहीद भोगेको प्रजा-परिषद्ले उहाँहरुको स्मृतिमा माघ १६ गतेका दिन “शहीद दिवस” मनाउने प्रारम्भ गरेको थियो । त्यसकै निरन्तरता स्वरुप विगत सात दशकदेखि माघको पहिलो हप्ता “शहीद सप्ताह” मनाउने परम्परा भिन्न-भिन्न विचार बोकेका सबै सरकारहरुले गर्दै “कर्तव्य पूरा” गर्दै आएका छन् ।
त्यही परम्पराको थालनी गरिएको पूर्व मन्त्री सूर्यबहादुर भारद्वाजको काठमाण्डौ १८ नरदेवीमा रहेकाे २०७२ सालको भूकम्पले क्षतिग्रस्त घर साढे पाँच वर्षपछि भत्काउने क्रममा यतिबेला सम्पूर्ण दस्तावेजहरु सयौँ वर्ष पुराना सन्दूक र ट्याङ्काहरुमा बन्द गरेर अस्थायी टहरामा राखिएको हो ।
त्यो त्यही घर थियो, जहाँ राणा शासकको बन्दीगृहबाट भागेका गणेशमान सिंह मध्य रातमा शरण लिन पुग्नुभएको थियो । त्यही घरबाट राणाका जेलबाट भाग्नुभएका सिंहलाई भेष बदलेर सुरक्षित ढङ्गबाट लुकाउँदै भीमढुङ्गासम्म पुर्याएर काठमाण्डौ उपत्यका बाहिर पठाउन भारद्वाजले मद्दत गर्नुभएको थियो ।
जुन कथा किम्बदन्तीका रुपमा जनमानसमा अहिले पनि सुन्न र पढ्न पाइन्छ । त्यसका लागि उहाँले अर्का मित्र शम्भुराम श्रेष्ठको पनि साथ लिनुभएको थियो भनेर “लौह पुरुष” का रुपमा प्रसिद्ध नेपाली काङ्ग्रेसका संस्थापक नेता सिंहले आफ्नो “कथाका पाना” पुस्तकमा रोचक ढङ्गबाट प्रस्तुत गर्नुभएको छ । राणाशाही विरोधी गतिविधिमा लागेकै कारण भारद्वाजलाई ९७ सालभन्दा अघि नै पटक-पटक गरेर पाँच वर्ष जेलमा हालियो र ५० रुपियाँ जरिवाना पनि तिराइयो ।
प्रजातन्त्र प्राप्तिपछि २०१३ सालमा टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रीमण्डलमा १८ महिना खाद्य उप-मन्त्री समेत बनाइनुभएका भारद्वाजले जीवनभरि खद्दरको कपडा लगाएर नमुना जीवनशैली प्रदर्शन गर्नुभएको उहाँलाई देखे सुनेकाहरु बताउँछन् ।
एक समय “लोक-वार्ता” नामको पत्रिका प्रकाशन र सम्पादन गरेर पत्रकारिताको समेत अनुभव गर्नुभएका उहाँ ऋणमा डुब्नु भएको थियो भनी पुराना राजनीतिक कार्यकर्ताहरु स्मरण गर्दछन् । उहाँ सधैं आफ्नो घरमा साथीभाइहरु भेला गरेर खाना-खाजा खुवाइ रहनुहुन्थ्यो, त्यस कारण प्राप्त तलब पर्याप्त हुँदैनथ्यो भनिन्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा भारद्वाजको ८५ वर्षको उमेरमा २०६१ साल भदौ १८ गतेका दिन निधन भएको थियो ।
राणाकालमै घुम्ती पुस्तकालय र घुम्ती औषधालयका सञ्चालक साथै छुवाछुत विरुद्धको अभियन्ताका रुपमासमेत प्रसिद्ध हुनुभएका उहाँ ऐतिहासिक महावीर स्कुलमार्फत् जनचेतना जगाउन सक्रिय रहनुभएको थियो । भारद्वाज नेपाल प्रजा-परिषद्का उप-सभापतिसम्म बन्नुभएको थियो ।
इतिहासमा पढाइने गरेको “ब्राह्मण” भएकै कारण राणा शासकले मृत्युदण्ड नदिएका टंकप्रसाद आचार्यपछि प्रधानमन्त्री भएका कारण हुन सक्दछ, उहाँको नाममा एउटा स्मृति प्रतिष्ठान बनेको पाइन्छ । अर्का “जिउँदा शहीद” का रुपमा चिनिएका रामहरी शर्मा, गोविन्दप्रसाद उपाध्याय र हरिकृष्ण श्रेष्ठलगायत तिनका अन्य कयौँ समकालीनका परिवार र सन्ततिहरु परिषद्को वर्तमान अवस्थाबारे अनभिज्ञ जस्तै छन् ।
नेपाली राजनीतिका पहिलो पुस्ताको गरेका कामलाई निरन्तरता दिँदै दोस्रो पुस्ताका उहाँकै सुपुत्र शैलेन्द्र भारद्वाजले अहिले परिषद्का कार्यवाहक अध्यक्षका रुपमा बिँडो थाम्दै राजनीतिको ऐतिहासिक धरोहरको अस्तित्व जोगाइरहनु भएको छ । इतिहासमा गह्रुङ्गो भारी बोकेको भए पनि वर्तमानमा पुराना सन्दूक र ट्याङ्काहरुमा पुगेको नेपाल प्रजा-परिषद् त्यससित सम्बन्धितहरुबारे अहिले कतैबाट सोधखोज छैन ।
पञ्चायती व्यवस्थामा अगुवा रहेका “पञ्च” हरुले बनाएका दलहरु धमाधम “गणतान्त्रिक” हुँदै आएको वर्तमानमा “प्रजा-परिषद् युग” का नेताहरुलाई सम्झेर तिनका वीरता र त्यागका गाथा सुन्दा लाज लाग्दो हो, आजका राजनीति सञ्चालकहरुलाई । तर नेपालको प्रजातान्त्रिक विकास क्रममा पहिलो खुड्किलोका रुपमा तिनका योगदानलाई नसम्झिदिँदा इतिहासप्रति अन्याय गरेको अवश्य ठहर्नेछ ।
यस्तोमा इतिहास सम्झिने होइन बिर्सने विषय बनाउँदै लगिएको हो कि जस्तो लाग्नु स्वाभाविकै हो । “इतिहासमा योगदान गरेका पात्रहरुलाई सम्झिने पहिलो दायित्व सरकारको नै हो, नसम्झिदिँदा दुर्भाग्य भएको छ” - कार्यवाहक अध्यक्ष शैलेन्द्र भारद्वाजको अभिव्यक्ति थियो ।
राणा शासन विरुद्ध देशमा सर्वप्रथम संगठित शक्तिका रुपमा नेपाल प्रजा-परिषद्का सदस्यहरु ज्यानको बाजी लगाएर राजधानीका सडकमा उत्रिएका थिए भन्ने कुरा ऐतिहासिक दन्त्यकथा जस्तै भैसकेको छ ।
त्यही नेपाल प्रजा-परिषद्का संस्थापक टंकप्रसाद आचार्यका साथै नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंह दुवैका अत्यन्तै विश्वासिला नजिकका मित्र रहेर आफ्नो विद्वता र वीरता प्रदर्शन गर्दै इतिहासमा आफ्नो नाम अङ्कित गरेका सूर्यबहादुर भारद्वाजको ऐतिहासिक घरको भग्नावशेषमा अब इतिहासका विद्यार्थीहरुले खोतल्न जानुपर्ने अवस्था आएको छ । “भूकम्पले बस्नै नहुने भएपछि डेरा खोजियो, अहिले भत्काउने काम गर्दैछु, घर कहिले बनाउन सकिएला भन्न सकिएको छैन”, शैलेन्द्र आफ्नो अवस्था बताउनु हुन्छ ।
भारद्वाजका प्रारम्भिक सह-पाठीहरुमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठलगायत अर्का कम्युनिष्ट नेता शम्भुराम श्रेष्ठ र प्रेमबहादुर कंसाकारहरु हुनुहुन्थ्यो भने युवावस्थामा उहाँ कविकेशरी चित्तधर “हृदय” र पूर्णबहादुर एम. ए., गणेशमान सिंह, टंकप्रसाद आचार्य हुँदै डिल्लीरमण रेग्मी र विश्वेश्वरप्रसाद कोइरालासम्मका पनि मध्यस्तकर्ता हुन पुग्नुभएको थियो ।
पटक-पटक जेल समेत परेका भारद्वाजले विगतमा राष्ट्रिय कांग्रेस, नेपाल प्रजा पञ्चायत पार्टी र नेपाल प्रजातन्त्र कांग्रेसका लागि समेत योगदान पुर्याउनुभएको थियो । आफ्नो नामका पछाडि कारणवश वास्तविक थर नलेखेर गोत्र “भारद्वाज” लेख्नुभएका सूर्यबहादुरका सन्ततिले पनि उहाँकै आज्ञा शिरोपर र सम्मानका खातिर “भारद्वाज” नै लेख्ने गरेका छन्।
सही शिक्षा र सही संस्कार दिन सक्यो भने सन्ततिले पनि आफ्ना पुर्खाको सही मूल्याङ्कन गर्दछन् भन्ने भनाइलाई चरितार्थ गर्दै शैलेन्द्र आफ्ना पिताकै मार्ग पछ्याएको बताउनु हुन्छ । उहाँपछि तेस्रो पुस्ता पनि देश सही मार्गमा हिँडोस् भन्ने कामनासहित सडकमा उत्रिसकेको छ ।
शैलेन्द्रका २५ वर्षीय छोरा सौरभ केही दिनअघि कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली गरियोस् भन्दै विभिन्न स्थानमा भएका सडक प्रदर्शनीमा सक्रिय छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।