पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी ए...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाल विद्युत प्राधिकरणले अहिले स्मार्ट ग्रिड प्रणालीको अवधारणा अनुसार काठमाण्डौमा स्मार्ट मिटर जडानको काम गरिरहेको छ ।
पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका ९८ हजार घरमा स्मार्ट मिटर जडान गर्न एसियाली विकास बैंकको ८ करोड १२ लाख रुपैयाँ सहुलियत ऋण सहयोगमा काम भइरहेको छ । यो काम तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा सुरु भएको थियो ।
पहिलो चरणको कामको लागि एसियाली विकास बैंकले ८ करोड १२ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने आयातित उपकरणमा लाग्ने १ प्रतिशत भन्सार तथा जडान र निर्माणतर्फ १३ प्रतिशत भ्याट रकम नेपाल सरकार र विद्यतु प्राधिकरणले बेहोरेका छन् ।
वि.सं. २०७७ सालको जेठ महिनासम्ममा यो काम सम्पन्न गर्न २०७५ सालको चैतमा चीनको पिङगाओ विज्डम जेभीसँग भएको थियो । तर कोरोना महामारीको कारण अहिलेसम्म १६ हजार मिटर मात्रै जडान भएका छन् । अहिले म्याद थपको लागि प्रक्रिया अघि बढिरहेको काठमाण्डौ उपत्यका स्मार्ट मिटरिङ आयोजनाका प्रमुख रोशन न्यौपानले जानकारी दिनुभयो ।
स्मार्ट मिटर भनेको ग्राहकको घरमा राखिने आधुनिक प्रविधियुक्त विद्युतीय मिटर हो । जसबाट मिटरमा रहेका विद्युतीय तथ्यांकहरु जस्तै करेन्ट, भोल्टेज, खपत भएको युनिट, मागको अवस्था आदिको जानकारी प्राप्त गर्न सकिन्छ । स्मार्ट मिटरका तथ्यांक रेडियो फ्रिक्वेन्सी तथा जीपीआरएसको माध्यमबाट स्वचालित रुपमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको डाटा सेन्टरको सर्भरमा पुग्छन् । केन्द्रीय कार्यालयको डाटा सेन्टरको सर्भरमा पुगेका जानकारीका आधारमा प्राधिकरणले तत्कालै एक्सन लिन सक्छ ।
‘यसलाई रिमोर्ट कन्ट्रोलको माध्यमबाट सञ्चालन र नियन्त्रण गर्न सकिन्छ । नेपाल विद्युत प्राधिकरणले डाटा सेन्टर रहेकै स्थानबाट उपभोक्ताको घरमा रहेको मिटरको अनुगमन र नियन्त्रण गर्न सक्छ।’ काठमाण्डौ उपत्यका स्मार्ट मिटरिङ आयोजनाका प्रमुख रोशन न्यौपानेले भन्नुभयो ।
विद्युत प्राधिकरणका अनुसार सबै खालका ग्राहकको घरमा स्मार्ट मिटर जोड्न मिल्छ । सिंगल फेज, थ्रि फेज र थ्रि फेजका सीटी अपरेटरमा मिटर जोड्न मिल्छ । सिंगल र थ्रि फेज उपभोक्ताको लागि हो भने सीटी अपरेटर थ्री फेज ट्रान्सफर्मरमा प्रयोग हुन्छ । यसले ट्रान्सफर्मरबाट कति उर्जा प्रवाह भइरहेको छ र मिटरमा कति उर्जा पुगेको छ भनेर जान्न सजिलो पर्छ । यसले चुहावट नियन्त्रणमा ठूलो फाइदा पुग्नेछ ।
स्मार्ट मिटर जडानको लागि ग्राहकले एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने विद्युत प्राधिकरणले जनाएको छ । ‘सबै खर्च विद्युत प्राधिकरणले नै बेहोर्छ । मिटरको र जडान गरेको कुनै शुल्क लाग्दैन’ न्यौपानेले भन्नुभयो ।
न्यौपानेका अनुसार सिंगल फेज लाइनको एउटा मिटर खरिदको लागि मात्रै प्राधिकरणले झण्डै ७ हजार रुपैयाँ खर्च गरेको छ । यसमा सफ्टवेर र सर्भर जडान गर्दा झण्डै ११ हजार खर्च पुग्ने उहाँको दावी छ । यस्तै थ्रि फेज मिटर, सफ्टवेर तथा सर्भर जडान गरेर २० हजारसम्म पर्न सक्नेछ । यो सबै लागत विद्युत प्राधिरणले बेहोरेको छ ।
स्मार्ट मिटर जडानपछि उपभोक्ता र विद्युत प्राधिकरणलाई धेरै फाइदा पुग्नेछ । ग्राहकका घर घरमा आएका समस्या समाधान गर्न सहज हुनेदेखि चुहावट घट्ने र घरको सोलार उर्जा समेत बेच्न पाइनेछ ।
काठमाण्डौ उपत्यका स्मार्ट मिटरिङ आयोजनाका प्रमुख रोशन न्यौपानका अनुसार स्मार्ट मिटर जडानपछि प्राधिकरण र उपभोक्तालाई निम्न फाइदा र सहजता थपिनेछ :
पहिलो चरणमा काठमाण्डौको रत्नपार्क र महाराजगञ्ज क्षेत्रका ९८ हजार घरमा स्मार्ट मिटर जडान गरिरहेको विद्युत प्राधिरकरणले दोस्रो चरणमा काठमाण्डौ, ललितपुर र भक्तपुरका ९ वटा वितरण केन्द्रका ४ लाख ग्राहकको घरमा जडान गर्नेछ । यसको लागि झण्डै ३० करोड रुपैयाँ लाग्ने अनुमान छ । ४ लाख घरमा स्मार्ट मिटर जडानको लागि वोलपत्र आव्हान गर्ने तयारी छ तर सञ्चार मन्त्रालयले दिनुपर्ने एउटा स्वीकृतीमा ढिलाइ भएको आयोजना प्रमुख न्यौपानेको भनाई छ ।
‘हामीले बोलपत्र तयार गरेर राखेका छौँ, सञ्चार मन्त्रालयले लाइसेन्स दिनेबित्तिकै बोलपत्र आव्हानमा जान्छौँ’ उहाँले भन्नुभयो ।
काठमाण्डौसँगै बाहिरका मुख्य सहरमा पनि स्मार्ट मिटर जडानको तयारी छ । तर यसको लागि ठूलो खर्च लाग्ने भएकाले खर्चको जोहो गर्ने तयारी भइरहेको पनि प्राधिकरणले जनाएको छ ।
‘देशभर विद्युत प्राधिकरणका ४२ लाख ग्राहक रहेका छन्, सबै ग्राहकको घरमा एकैपटक स्मार्ट मिटर जडान गर्न आर्थिक र प्राविधिक हिसावले कठिन हुने देखिन्छ, बिस्तारै यो मिटर जडानको काम देशभरी पुग्नेछ’ काठमाण्डौ उपत्यका स्मार्ट मिटरिङ आयोजनाका प्रमुख रोशन न्यौपानेले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।