संसारको सबैभन्दा अग्लो ठाउँमा रहेकाे तिलिचो ताल पुग्न नयाँ पदमार्ग

 असोज ५, २०८१ शनिबार १३:२४:५२ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी – मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो ठाउँको ताल हो । मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन् । यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो ।

मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जोमसोम–ठिनी–नमखुलेक, निलगिरि आइसफल, छेमा ताल, मसोकोन्दो पास हुँदै तिलिचो ताल जोड्ने पदमार्गलाई आन्तरिक पर्यटकले प्रयोग गर्न थालेका बताउनुभयो ।

‘गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)ले तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ,’उहाँले भन्नुभयो ‘यो पदमार्ग भएर दुई दिनमै पर्यटक तिलिचो ताल जान र आउन थालेका छन् ।’  

म्याग्दी र मुस्ताङका बासिन्दा, कर्मचारी, व्यवसायिहरु जोमसोम हुँदै तिलिचो ताल भ्रमणमा जान थालेका छन् । यो पदमार्ग भएर तिलिचो पुग्न पाँच हजार एक सय २० मिटर अग्लो मेसोकोन्दो पास (झञ्जयाङ) पार गर्नुपर्छ । होटल र रेष्टुरेष्टको सुविधा नभएकाले आफै खानेबस्ने सामग्रीको जोहो गर्नुपर्छ । जोमसोमदेखि दुई घण्टा सवारी साधन र छ घण्टा पैदलयात्रा गरेपछि मेसोकोन्दो पास पुगिन्छ ।

मेसोकोन्दोदेखि एक घण्टा पैदलयात्रा गरेपछि तिलिचो ताल पुगिने यसैहप्ता तिलिचो भ्रमण गरेर फर्कनुभएका म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीका तुलन बुढामगरले बताउनुभयो । ‘उकालो हिडाइको थकान तिलिचो पुगेपछि वरपरका हिमालको बीचमा रहेको निलो र निश्चल तालको दृष्य अवलोकन गर्न पाउँदा मेटियो,’ उहाँले तिलिचो यात्राको अनुभव सुनाउनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ मा घरपझोङ गाउँपालिकाले विभिन्न  शीर्षकमा  ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि  १० लाख रुपैयाँ खर्च गरेको छ ।

घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मीला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको २१ लाख ४९ हजार  रुपैयाँ र गाउँपालिकाको थप  २८ लाख ५८ हजार रुपैयाँ बजेटबाट वडा नम्बर ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिनुभयो ।

झोर खोलादेखि –नमखुलेंक खर्क–निलगिरि आइसफल– छमा ताल पहुँच मार्गको सोचिलेंक सम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताउनुभयो । एक्याप मार्फत पाँच हजार १२० मिटर उचाईमा रहेको मेरोकोन्दो पास क्षेत्रमा ९५० मिटर पुरानो पदमार्ग मर्मत र ६०० मिटर नयाँ पदमार्ग निर्माण गरिएको बरिष्ठ रेञ्जर सञ्जोक थकालीले जानकारी दिनुभयो ।

जोमसोम–तिलिचो पदमार्गमा सूचनामूलक साइनबोर्ड, हाइअल्टिच्युड स्थल क्षेत्र, विशेषता, स्थान र उचाइको जानकारीलगायत पर्यटक लक्षित जानकारीमूलक होर्डिङ बोर्ड र साइन पोष्टिङ राखिएको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो । 

प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङग्रा तथा चौरीको गोठ यस पदमार्गका आकर्षण हुन् ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया