पूर्वका सुनसरी, मोरङ, उदयपुरलगायतका जिल्लामा वर्षा

 असोज १६, २०८१ बुधबार ८:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वका सुनसरी, मोरङ, उदयपुरलगायतका जिल्लामा पानी परिरहेको छ । अहिले बिहान सुनसरीको तरहरा र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । थप पानी पर्न सक्ने भएकाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोलालगायतका तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै मोरङको केराबारी वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । त्यो क्षेत्र भएर बग्ने नदी/खोलामा पानीको बहाब केही बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

त्यस्तै उदयपुरको उदयपुरगढी वर्षामापन केन्द्रमा पनि सामान्यदेखि मध्यम वर्षा भइरहेकोले जोखिम क्षेत्रमा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । कोशी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि नै पानी परेको हो ।

आज र भोलि कोशी प्रदेशसँगै बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । तर गएको शुक्रवार र शनिवारजस्तो घनघोर वर्षा हुने सम्भावना नभएकाले आत्तिनु नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ठूलो वर्षा भए पनि क्षणिक हुन्छ । लगातार र घनघोर पानी पर्ने सम्भावना नभएकाले धेरै आत्तिनु नपर्ने उहाँको भनाइ छ । तर कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन भने मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया