सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटायो

 चैत १२, २०८१ मंगलबार ५:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै हटाउने निर्णय भएको हो ।

सरकारले कुलमानलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । गएको पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जामन्त्री दीपक खड्काले फागुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोध्नुभएको थियो ।

घिसिङले कार्यसम्पादन सम्झौता अनुसार तोकिएको लक्ष्य हासिल भएको उल्लेख गर्दै सफाइ पेश गर्नुभएको थियो । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । घिसिङको दोस्रो कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा सरकारले हटाउने निर्णय गरेको हो ।

२०७३ सालकाे भदौमा पहिलोपल्ट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमानलाई लोडशेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ । देशमा दैनिक १८ घण्टासम्म लोडशेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै काठमाण्डौ उपत्यकामा लोडशेडिङ अन्त्यको व्यवस्थापन गर्नुभएको थियो । २०७५ वैशाखदेखि देश लोडशेडिङमुक्त भएको घोषणा गरिएको थियो । कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध भइरहेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया