राम ! राम !! राम !!!
चैत २५, २०८१ सोमबार
मुस्ताङ – उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँचवटै वडामा कच्ची सडक बिस्तार भइसकेको छ । पालिकाको एउटा वडामा पुल नहुँदा वर्षौँदेखि स्थानीय बासिन्दा र पर्यटकलाई समस्या भएको छ ।
मुख्यराजमार्ग सडकले जोडिएको लोघेकर दामोदरकुण्ड–१ चराङबाट कालीगण्डकी पारिको लोघेकर दामोदरकुण्ड–५ ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी नदीको मिश्रण ‘ध्ये’ खोलामा पुल नहुँदा त्यस क्षेत्रका नागरिक र पर्यटकलाई आवतजावत गर्न सास्ती खेप्नुपरेको हो । मुस्ताङको चराङबाट ‘ध्ये’ खोला कटेर ध्ये र ताङ्ग्या गाउँ हुँदै मनाङको नाफु जोड्ने पर्यटकीय पदमार्ग पर्छ ।
उत्तरी कोरलापास र दामोेदरकुण्डसहित अन्य शाखा नदीको समिश्रण ‘ध्ये’ खोलामा पुल बन्न सकेको छैन । पुल नहुँदा समस्या भएको लोघेकर दामोदरकुण्ड–५ का वडाध्यक्ष पासाङ गुरुङले जानकारी दिनुभयो । भौगालिक रूपले विकट ध्ये र ताङ्ग्या गाउँमा उत्पादन हुने कृषि उपज र पशुपालनको बजारीकरण गर्नमा समेत पुल नहुँदा समस्या पर्ने गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
मुख्य राजमार्ग सडकअन्तर्गत पालिकाको केन्द्र चराङबाट एक घण्टा ओरालो झरेर ध्येखोला तरेर केही मिनेट उकालो लागेपछि ध्ये र ताङ्ग्या गाउँमा पुग्न सकिन्छ । यद्यपि यी दुई गाउँमा कच्ची सडकको पहुँच जोडिए पनि ध्येखोलामा पुल नहुँदा समस्या परेको हो । त्यस क्षेत्रका नागरिकले बर्खायाममा खाद्यान्न तथा दैनिक उपभोग्य सामान हिउँदयाममा खोलाको सतह घटेपछि मात्रै ढुवानी गरेर मौज्दात राख्ने गरेको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।
सङ्घीयतापछि लोघेकर दामोदरकुण्ड–१ र ५ जोड्ने गरी यहाँ पुल बनाउन गाउँपालिकाले पहलकदमी गर्दै आएको थियो । झन्डै पाँच सय मिटर दूरीमा फैलिएको ध्येखोलामा पुल निर्माणका लागि वैज्ञानिक अध्ययन र सर्भेसमेत भएको थियो । दुईवटा सरकारी निकायले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरे पनि सरकारले पुलका लागि बजेट विनियोजन नगर्दा समस्या भएको हो । कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिक सरकारले पुल बनाइदेला भन्ने आशमा छन् ।
ध्ये र ताङ्ग्य गाउँ जोड्ने पुल निर्माणका लागि यसअघि पूर्वाधार विकास निर्देशानालयले डिपिआर तयार गरेको थियो । ध्येखोलामा पुल निर्माणका लागि स्थानीय पूर्वाधार विभाग (डोली)ले पनि सर्भे गरेको थियो । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले ध्येखोलामा पुल निर्माण गर्न पटकपटक प्रयास गरिए पनि बन्न नसकेको बताउनुभयो । आवश्यक बजेट अभावले पुल बन्न नसकेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।