नेपालले म्यानमारलाई २७ टन राहत सामग्री सहयाेग गर्ने
चैत २७, २०८१ बुधबार
भीरमा जाने गाईलाई मात्रै होइन दाई, भाउजु, भाइ, बहिनी र बाहरुलाई पनि राम राम मात्रै भन्न सकिन्छ । हेर्दै खाइलाग्दा र जाइलाग्दाहरुको काँध थाप्न सकिँदैन । काँध त उनीहरु नै कहिले यसको र कहिले उसको पालैसँग थाप्छन्, थाक्छन् र अर्को काँध ताक्छन् । हाम्रो काँध र बुई भोट दिने बेलामा मात्रै काम लाग्छ । अरुबेला त हामीले राम, राम मात्रै भन्ने हो । आउनुहोस् रामनवमीको अवसर पारेर फेरि सबैको नाममा एकपटक राम, राम भनौँ ।
उबेला नारायणहिटीमा रजगज गरेर बसेका पूर्वराजालाई नागरिकले नागार्जुन र शीतल निवासमा आरामले बस्न अनुमति दिएकै छन् । त्यहीँ बसेर पनि राजसी ठाँटमा घुमफिर गर्न पाएकै छन् । मान, सम्मान मिलेकै छ । सुख, सुविधा र भोगविलासमा आनन्दसँग बस्न पाउँदासमेत उनलाई अचम्मको छटपटी छ । चिहानबाट भूत, प्रेत जाग्छ र देश दुई दशकअघिको अवस्थामा फर्कन्छ भन्ने अनौठो अन्धविश्वास छ । नागरिकलाई फेरि रैती र दास बनाएर आफू मनमौजी निरङ्कुश शासक बनेको सपना देख्ने पूर्वराजालाई राम राम ! राजा आउँछन् रे भन्दा मात्रै त्यत्रो विध्वंश भयो, राजा नै आए भने के पो होला भनेर चाल पाउँदासमेत उनको काँध थाप्छु भनेर अझै बुरुकबुरुक गर्नेलाई पनि राम राम !
पहिले एउटा मात्रै राजा थिए, अहिले उनकै सिको गर्दै हजारौं राजा जन्मिएका छन् । नागरिकको पीर, मर्का र आवश्यकताभन्दा आफ्नै दुनो सोझ्याउने ध्याउन्नमा छन् । समाजमा बढेको निराशा, आक्रोश र असन्तुष्टि मेट्न जनहितअनुसारका काम गर्न छोडेर आगोमा घिउ थप्न मात्रै जानेका छन् । कहिले कुलमानलाई चलाउँछन्, कहिले बालेनलाई तर्साउँछन्, कहिले हर्कलाई हप्काउँछन् । भागेर हिँडेको मान्छेलाई समात्न सक्दैनन्, जहिले समाउँदा पनि हुने घरमै बसेको मान्छेलाई अदालतले आदेश दिन नभ्याउँदै समात्न भनेर रातारात ओच्छ्यानमै पुग्छन् । शिक्षक, सहकारीपीडित र अरु समूहले उठाएका मागको बेवास्ता गर्छन् । पूरा गर्न नसकिने सपना बाँड्छन्, गर्नसक्ने काम गर्न सिन्को भाच्दैनन् । काममा भन्दा भाषण र उद्घाटनमै रमाउँछन् । जनमुखीभन्दा परमुखी कार्यशैली अपनाउँछन् । आफूहरुकै कार्यशैली र व्यवहारले गणतन्त्रविरोधी गतिविधि बढेको हो भन्ने जान्दाजान्दै उनीहरुकै मनोबल बढाउने काम गर्छन् । मुखमा गणतन्त्र, तर काममा ‘गन’तन्त्र र ‘गनगन’तन्त्रको अभ्यासमा रमाएका सरकार र दलहरुलाई झनै राम राम !
नयाँ र युवाहरुलाई ठाउँमा पुर्याउन पाए के के न होला भन्ने नागरिकको चाहना । नागरिकको त्यही चाहनाअनुसार नयाँ र युवा अनुहार ठाउँमा पुगेका छन् । पुरानालाई सच्याउँदै लोकप्रिय काम गर्न सक्ने शक्ति पाएका छन् । तर यिनीहरु पनि नयाँ ड्याङको पुरानो मूला, यि मूलाका कुरै मात्र ठूला । कोही सहकारी ठगीको मुद्दामा घर, पार्टी र जेल पालैपालो बस्छन् । कोही आफूबाहेक जान्ने संसारमा कोही छैन भनेर ढुङ्गा मात्रै बोक्छन् । कोही कार्यालयमा ताला र तमासा ठोकेर दिउँसो सडकमा लस्सीको स्वाद लिन्छन् । रात परेपछि फेसबुकमा आगो लगाउँछु र खाल्डो खनेर पुर्दिन्छु भन्दै आगो झोस्छन् । युवा र नयाँप्रति नागरिकको भरोसा तोडेर आआफ्नै घण्टी, तबला र काँधेस्पीकर बजाउन मात्रै जान्नेहरुलाई पनि राम राम !
देशमा प्रदर्शन र प्रहसनसँगै प्रदूषणले वाक्कदिक्क बनाइसक्यो । सास फेर्दा हावाभन्दा बढ्दा धुवाँ र धुलो फोक्सोमा पुग्न थालेको छ । अश्रुग्यासको पिरो हराउन नभ्याउँदै प्रदूषणको पिरोले आँखा हेर्नै गाह्रो भएको छ । केटाकेटी, वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र सुत्केरीहरु निसासिएर बाँच्न बाध्य छन् । प्रदर्शन भन्नासाथ खुट्टा उचाल्नेहरुले प्रदूषण गर्न हुँदैन भनेर चुप बस्न जानेका छैनन् । प्रदर्शन हटाउन जे पनि गर्न जान्नेहरुले प्रदूषण हटाउने मेसोमेलो पाएका छैनन् । प्रदर्शन र प्रहसन रोकेर प्रदूषण घटाउनेतर्फ कसैले सोच्नै भ्याएका छैनन् । प्रदूषण बढ्यो भनेर कोकोहोलो गर्ने, तर प्रदूषण घटाउनेतर्फ केही पनि नगर्ने बेकामे मोरामोरी, गोरागोरी सबैलाई रामराम !
प्रदर्शन रोक्न सडकको आगो निभाउनुपर्छ । प्रदूषण रोक्न वनको आगो निभाउनुपर्छ । मनको र वनको आगो निभाउन सके सबैतिर शीतल हुन्छ । तर आगो निभाउने जिम्मेवारी पाएकाहरुले दन्केको आगोमा घिउ थप्न मात्रै जानेका छन् ।आगो निभाउन छाडेर घिउ थप्न मात्रै जान्ने नयाँ–पुराना, जान्ने–नजान्ने सबैलाई राम राम !
यति पढिसक्दा मनमा अलिकति डढेलो लागेन भने तपाईलाई पनि राम राम !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।