काठमाण्डौका विभिन्न ठाउँमा प्रदर्शनको तयारी, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

 चैत २६, २०८१ मंगलबार ६:३१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज काठमाण्डौका विभिन्न ठाउँमा प्रदर्शनको तयारी भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न ठाउँबाट र्‍याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि प्रशासनबाट अनुमति लिएको छ । यस्तै शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरुले पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

प्रदर्शन हुने ठाउँमा गाडी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले आवश्यकता अनुसार डाइभर्सनको व्यवस्था मिलाइएको जनाएको छ ।

बल्खुमा हुने राप्रपाको प्रदर्शनलाई ध्यान दिँदै ट्राफिक प्रहरीले विभिन्न तीन ठाउँमा डाइभर्सनको व्यवस्था मिलाएको छ । यसअनुसार खसीबजार–मकालु–कलङ्की चोक–बाफलमा डाइभसर्नको एउटा रुट तय गरिएको छ ।

यस्तै बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा अर्को डाइभर्सन मिलाइएको प्रहरीले जनाएको छ । यस्तै कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा अर्को डाइभर्सन तोकिएको छ ।

कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुक्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ ।

नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भइ बानेश्वर र माइतीघर सडक खण्डको बीचमा तथा सहकारी र लघुवित्त पीडितले शान्तिबाटीकामा कार्यक्रम गर्ने भएकाले ती ठाउँमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

कार्यक्रम हुने ठाउँ हुँदै चल्ने गाडीका चालकले अरु वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

अन्तिम अपडेट: चैत २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया