श्यामैडाँडामा खानेपानी: हट्यो पानी लिन मध्यरातमा कुवामा बास बस्नुपर्ने बाध्यता

 माघ ५, २०७५ शनिबार १९:६:३२ | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ - डाँडाको बस्ती, वर्षाैदेखि खानेपानीको समस्या । एक गाग्री पानी थाप्न कुवामा घण्टौँ लाइन । मध्यरातमा आगो बाल्दै पालो कुर्नु पर्दाको त्यो पीडा । 

खानेपानी समस्याको भुमरीमा दुःखको भारीले थिचिएका श्यामैडाँडावासी । तर अहिले गाउँमै खानेपानी आएपछि सन्तुष्टिको लामो सास फेरेका उनीहरुले । उनीहरुको जीवनशैली पनि फेरिँर्दै छ । 

गजुरी गाउँपालिका–६, धादिङकी संगिता चेपाङ घर गाउँमै खानेपानीको सुविधा आएपछि दैनिकी सहज भएको बताउनुहुन्छ । एक गाग्री पानी लिन मध्यरातमा कुवामा आगो बालेर कुर्नुपथ्र्याे ।

उहाँ भन्नुहुन्छ, ‘विगतमा भोगेका समस्या सम्झँदा पनि जीउ सिरिङ्ग हुन्छ । तीतो अतित बिर्सन सकिन्न । खानेपानी ल्याउन ठूलो संघर्ष तथा मेहनत गर्नुपर्‍यो । 

तर खानेपानीको सुविधा भएपछि अहिले गाउँको मुहार फेरिएको छ । 

७३ वर्षीय गोगनबहादुर चेपाङ गाउँमा धारा र धारामा पानी झरेको देख्दा अचम्म लागेको सुनाउनुहुन्छ । गाउँमा खानेपानी ल्याउन दौडधुप गरेको देख्दा पानी आउँछ भनेर विश्वासै नलागेको उहाँको भनाइ छ ।

वर्षाैदेखिको खानेपानी समस्या समाधान भएपछि मेलापात, खेतवारीमा काम तथा घाँस दाउरा गर्न सजिलो भएको छ । उहाँ भन्नुहुन्छ,‘नजिक पानी नहुनु र भएको कुवामा पनि सानो अनि धेरै घरधुरिले खानुपर्ने बाध्यता भएका कारण एकजना त खानेपानी बोक्न नै खटिनु पर्ने समस्या थियो । तर अहिले खानेपानीको समस्या समाधान भएपछि रातारात पानी लिन कुवा धाउनु पर्दैन उहाँले बताउनुभयो । 

हिउँदको समयमा उजाड देखिने श्यामैडाँडा हिजो आज करेसाबारीले हरिया देखिएका छन् । सागपात तथा करेसाबारी नहुने एउटै परिवार भेटिदैनन् । कुपोषणले ग्रसित चेपाङ समुदाय अहिले सन्तुलित खानामा जोड दिन थालेका छन् । 

श्यामैडाडाकै राममायाँ चेपाङ दुःखले गाउँमा खानेपानी ल्याइएकाले थोपा थोपा संकलन गरी घर तथा खेतबारीमा प्रयोग गर्ने गरेको बताउनुहुन्छ । 

पहिले धेरै बालबालिकालाई कुपोषण भएको थियो । तर हिजोआज सबैको करेसाबारीमा हरिया सागपात छन् । खानेकुराको व्यवस्थापन तथा सन्तुलित खानामा जोड दिएका छौ । गाउँको परिवर्तन भएको देख्दा खुषी लागेको बताउनुहुन्छ । 

फियान नेपाल नामक गैर सरकारी संस्था र सत्य साइ सेवा संगठन नामकाे स्थानीय संस्थाले खानेपानी ल्याउनमा सहयोग गरेका हुन् । ९ किलो मिटर टाढाको मुहानबाट पानी ल्याइ खानेपानी समस्याको समाधान भएको छ । 

अहिले श्यामैडाँडाका १ सय ५५ घरधुरीले खानेपानीको सुविधा पाएका छन्  । सञ्चार माध्यममा खानेपानीको समस्या रहेका जानकारी पाएपछि सहयोग जुटाएर खानेपानी ल्याइएको श्री सत्य साइ सेवा संगठन नेपालले जनाएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया