महायज्ञमा राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल वलीले दान गरिन् आफ्नै गीत

 चैत १६, २०७५ शनिबार १९:५६:४६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकाकाे माध्यामिक विद्यालय रतनपुरमा शनिबार सञ्चालित श्रीमदभागवत महायज्ञमा राष्ट्रिय सभा सदस्य कोमल वलीले आफ्ना गीतहरु नै दान गर्नुभएकाे छ ।

विद्यालयमा भौतिक पूर्वाधार विकास र प्राविधिक शिक्षा सञ्चालनकाे लागि सञ्चालित महायज्ञमा वलीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।  मन्तव्यमा बाेेल्दै वलीले विद्यालयलाई प्रविधियुक्त  बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफू राष्ट्रिय सभा सदस्य भएको र आफूले दान गरेकाे १५/२० हजार रुपैयाँ धेरै नहुने भन्दै आफूसँग भएको गीत नै दान गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा गायिका वलीले आफ्नाे तुल्सिपुरमा मै जाँदा खेरी भन्ने लोक गीतकाे लयमा भजन पनि गाउनुभयाे, आफू पनि नाच्नुभयाे र आयोजक र भक्तजनहरुलाई पनि मज्जाले नचाउनुभयाे । 

महायज्ञमा बोल्दै रास्ट्रिय सभा सदस्य वलीले पश्चिमा देशहरूले हिन्दु धर्ममाथि खुलेयाम आक्रमण गरेको बताउनुभयो । 'उनीहरु हाम्रो देशमा खुलेआम धर्म किनबेचमा लागेका छन्', उहाँले भन्नुभयाे, 'त्यस्तालाई कारबाही गरिनुपर्छ । धर्मले हामीलाई सन्तुष्टि, सुखी र अनुशासित बनाउँछ । पैसा संकलनका लागि मात्रै नभएर धर्म संरक्षणका लागि गाउँगाउँ महायज्ञ लगाउन जरुरी छ ।'

उहाँले विद्यालयको भौतिक विकासका लागि आफूले पनि पहल गर्ने आश्वासन दिनुभयो। शिक्षामा आमूल परिवर्तन गर्ने गरी सरकारले काम गरिरहेको भन्दै वलीले भौतिक निर्माण र प्राविधिक शिक्षाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया