जिल्ला समन्वय समिति दाङका प्रमुखले गरे वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

 चैत २१, २०७५ बिहिबार १६:१३:४१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - आफूलाई जानकारी नदिइ जिल्ला समन्वय समिति परिसरको भवन प्रयोग गरेको भन्दै समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले घोराही उपमहानगरपालिका वडा नं-१५, को कार्यालयमा तालाबन्दी गर्नुभएको छ ।

जिल्ला समन्वय समितिको परिसरमा रहेको भवन जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतम र घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारबीच सहमति गरी वडा कार्यालयका रुपमा प्रयोग गरिएको थियो ।

टिन लगाइएको सामन्य खालको उक्त खाली भवन दुवै कार्यालयका प्रशासकीय अधिकृतबीचको समन्वयमा वडा कार्यालयले केही समय अघिदेखि प्रयोग गर्दै आएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले जानकारी दिनुभयो ।

वडा कार्यालयले जानकारीबिना आफू अनुकूल नै भवन प्रयोग गरेको हुँदा तालाबन्दी गरिएको प्रमुख नेपालीको भनाइ छ । भवन वडाध्यक्षको कार्यकक्षका रुपमा प्रयोग गरिँदै आएको वडा कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली नेकपाबाट प्रमुख बन्नु भएको हो भने घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे नेपाली कांंग्रेसबाट निर्वाचित हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया