बिजुली बस ग्यारेजमै थन्किए, पर्यटन मन्त्रालय भन्छ : मापदण्डै पुगेन

 चैत २५, २०७५ सोमबार ९:२२:१९ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डाै – पाँच महिनाअघि काठमाण्डौको सडकमा गुडाउन ठिक्क पारिएका बिजुली बस अझै ग्यारेजमा थन्किएका छन् । बस कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने कुनै टुंगो लागेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको कात्तिक ६ गते उद्घाटन गरेपछि भोलिपल्टदेखि नै सडकमा बिजुली बस गुड्छ भन्ने धेरैलाई लागेको थियो । तर पाँच महिना बितिसक्दा समेत बस नगुड्दा धेरैले बिजुली बस बिर्सिसकेका छन् ।

काठमाण्डौमा चलाउन भनेर ल्याइएका पाँचवटा बस चिनियाँ विद्युतीय बस निर्माता कम्पनी बीवाईडीको नेपालस्थित सम्पर्क कार्यालय नक्सालमा थन्किएका छन् । 
मापदण्ड विपरीत र प्राविधिक त्रुटी भएको भन्दै सरकारी तवरबाट बिजुली बसहरु सञ्चालन गर्न रोक लगाएपछि बस सञ्चालनमा आउन नसकेको हो ।

एसीयाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो । तर लुम्बिनीमा बिजुली बस सञ्चालनको लागि पूर्वाधार तयार नभएसम्म साझा यातायातले काठमाण्डौमा चलाउने गरी निर्णय भएको थियो । 

सञ्चालनमा आउने प्रतिक्षामा बस लामो समयसम्म साझा यातायात समितिको कार्यलय पुल्चोकमा राखिएका थिए । तर लामो समयसम्म पनि चलाउने नचलाउने कुनै टुङ्गो नलागेपछि त्यहाँबाट पनि हटाएर नक्सालमा राखिएको हो ।

‘सरकारी तवरबाटै बिजुलीबस सञ्चालनमा कुनै टुङ्गो लगाउन नसकेपछि हामीले चलाउँछु भनेर भएन’, साझा यातायात सञ्चालन समितिका कार्यकारी निर्देशक भुषण तुलाधरले भन्नुभयो, ‘हामी त तेस्रो पार्टी पर्यौँ, हामीले किन चलाउन नदिएको भनेर सोध्ने ठाउँ पनि रहेन ।’

सधैँंको लागि यी बसहरु काठमाण्डौमै चलाउने र लुम्बिनीको लागि नयाँ बसहरु ल्याउनेसम्म पनि कुरा भएका थिए । बिजुलीबस उद्घाटन कार्यक्रममा सरकारले अर्को वर्ष अर्थात सन् २०२० भित्र काठमाण्डौ उपत्यकामा जम्मा बसको २० प्रतिशत बिजुलीबस चलाउने घोषणा गरेको थियो । तर उद्घाटन गरिएका ती पाँच बस सञ्चालनमा ल्याउन पनि हम्मेहम्मे परिरहेको छ । अहिले यी बस काठमाण्डौमा मात्र होइन नेपालमै चलाउन कठिन भएको देखिन्छ ।

मापदण्डमा नपर्दा बस सञ्चालनमा समस्या

पर्यटन मन्त्रालयले आफूले तोकेका मापदण्डभित्र नपर्दा बिजुली बस सञ्चालनमा रोक लगाएको छ । बस चिनीयाँ कम्पनीको हुनुपर्ने भनी ठेक्कामा सम्झौता भए पनि भारतीय ‘एसेम्बल’ बस ल्याएको भन्दै पर्यटन मन्त्रालयले बस सञ्चालन गर्न दिएको छैन । यसको साथै  मन्त्रालयले यी बसमा अरु १७ वटा कमजोरी देखाएको छ । 

‘हाम्रो कन्ट्र्याक्टमा तोकिएका मापदण्ड भित्र नपरेको भएर हामीले बिजुली बस सञ्चालन गर्न सकेका छैनौँ’ पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले भन्नुभयो, ‘प्राविधिक त्रुटीहरु देख्दादेख्दै्र हामी त्यसलाई कसरी स्वीकार्न सक्छौँ ? कि त बसहरु रिप्लेस गर्नुपर्यो । होइन भने कन्ट्र्याक्ट क्यान्सिल हुन्छ र बसहरु लिलाममा बिक्री हुन्छन् ।’ 

बस रिप्लेसको लागि मन्त्रालयले बारम्बार पत्राचार गर्दा पनि बीवाईडी कम्पनीले ध्यान नदिएको उहाँले बताउनुभयो ।

अध्ययन नै नगरी बसलाई दोष दिएको कम्पनीको गुनासो

तर नेपालकोतर्फबाट बीवाईडी कम्पनीका प्रतिनिधि साहिल श्रेष्ठ भने जसरी भए पनि बस सञ्चालनमा आउने बताउनुहुन्छ । ‘यो अन्तर्राष्ट्रिय स्तरको कम्पनी हो । यी बसहरुलाई सञ्चालन नगरेरै यसका कमजोरीहरु विश्लेषण गर्नु उचित हुँदैन’, उहाँले भन्नुभयो, ‘सुरुमा चलाएर त हेर्नुपर्यो नि । हचुवाको भरमा झिनामसिना कमजोरीहरु देखाएर मापदण्डभित्र परेन भन्न मिल्छ ?’ 

यस विषयमा अराजक भएर लाग्नुभन्दा समझदारीमा निर्णय गरे बस चाँडै सञ्चालनमा आउने श्रेष्ठ बताउनुहुन्छ । यस्तै बीवाईडी कम्पनीकै ब्राण्ड साइमेक्ससँग आबद्ध यमुना श्रेष्ठले सरकारले बीवाईडी बसमा देखाएका प्राविधिक त्रुटीहरु जायज नभएको गुनासो गर्नुभयो ।

‘बसहरुमा कुनै डिफेक्ट छैन । तर नेपालमा कर्मचारीतन्त्र हावी भएकाले आफ्ना विभिन्न स्वार्थ पूर्ति नहुँदा सञ्चालन हुन नसकेको मात्र हो’, उहाँले भन्नुभयो ।

वैशाखभित्रै चलाउने मन्त्रीको दावी

काठमाण्डौमा बस सञ्चालनको जिम्मा पाएको साझा यातायातका निर्देशक भुषण तुलाधरले सानातिना कमजोरीलाई लिएर बहस खडा गर्न भन्दा पनि निश्चित ट्रायल अवधी तोकेर बस चलाउन दिए हुने बताउनुहुन्छ । 

नेपालमा नयाँ प्रविधि भएकाले चलाएपछि मात्र यसका कमी कमजोरी थाहा हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘विद्युतीय बसको सबैभन्दा महत्वपूर्ण कुरा भनेको त्यसको ब्याट्री हो, ब्याट्री राम्रो छ भन्ने कुरामा हामी ढुक्क छौँ । बसभित्रका आन्तरिक कुराहरु परिमार्जन गर्न सकिन्छ ।’ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बिजुली बस वैशाखभित्रै चलाउने दावी गर्नुभएको छ । यातायात प्राधिकरण बनाएर नयाँ ऐन बमोजिम बिजुली बस सञ्चालनमा ल्याउने उहाँको तर्क छ । यस विषयमा प्रक्रिया अगाडि बढीरहेको पनि उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।

सबै पक्षसँग छलफल गरेर टुंगोमा पुग्ने र बस सञ्चालन हुने उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया