राजा सलहेश र मालिनीकाे प्रेम प्रतीक: नयाँ वर्षमा मात्रै फुल्ने अनाैठाे फूल

 बैशाख १, २०७६ आइतबार १५:०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहाकाे लहान नगरपालिकामा रहेको ऐतिहासिक स्थल सलहेश फूलबारीमा नयाँ वर्षकै दिन अचम्मकाे फूल फुल्ने गर्छ । प्रत्येक नयाँ वर्षको दिन अर्थात वैशाख १ गतेका दिन मात्र फुल्ने त्यस फूलको दर्शन गर्न बिहानैदेखि त्यहाँ भिड लाग्ने गर्छ ।   

राजा सलहेश र उहाँकी प्रेमिका मालिनीको प्रेम-प्रतीकका रुपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करिब ५ हेक्टर जमिनमा फैलिएको फूलबारीको मध्यभागमा हारमको रुखमा प्रत्येक वर्षको वैशाख १ गते एक जोडी माला देखिने गरेको जनविश्वास छ ।

ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुइँचो लाग्ने गरेको छ ।

सलहेश फूलबारीमा एक दिन मात्र फुल्ने फूलकाे दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा हुने गर्छन् । राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौं दर्शनार्थीहरु बिहानैदेखि आएका छन् ।

पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरुमध्ये सिरहाको सलहेश फूलबारीमा नयाँ वर्षको दिन पूजाअर्चना गर्ने श्रद्धालु भक्तजनहरुको बिहानदेखि नै ठूलो भिड लाग्ने गरेको छ ।

हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिनमात्र फूलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै भिड जम्मा हुने गरेको छ । 

यो फूल नयाँ वर्षका अवसरमा मात्र फुल्ने भएकाले नयाँ वर्ष मनाउन आउने पर्यटकहरुको ठूलो भिड लाग्ने गरेको छ । सलहेश फूलत्रारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कुनै पहल नभएकोमा स्थानीयहरु गुनासो समेत गर्न थालेका छन् ।

सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोकनायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकांक्षा, सन्तान प्राप्ति, चर्म रोग, कुष्ठ रोगलगायतका रोग निको हुने जनविश्वास रहेको छ । फूलबारीभित्र दुर्लभ जातिका जडिबुटीहरु खोज्न भारतको विहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट हजारौंको संख्या आउने गर्दछन् ।

हरेक वर्षको वैशाख १ गते मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेला लाग्ने गर्दछ । सलहेश र मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको र प्रेम सफल नहुँदा मालिनीले सलहेशको प्रतिक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर देखा पर्ने जनविश्वास छ ।

फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।

हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयबर्द्धन सलहेश र दौना मालिनीको प्रेम प्रतीकका रुपमा लिइन्छ । अचम्म के छ भने साँझपख यो फूल ओइलाएर जान्छ । युवायुवतीहरु यही फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन् ।

मेलामा आउने लाखौं भक्तजनहरुमध्ये तीस प्रतिशत भारतीय नागरिक रहने गरेका छन् ।

हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेको यस फूलबारीको शीतल जल ग्रहण गरेपछि जस्तोसुकै रिस क्रोध शान्त हुने जनविश्वास छ । यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नको लागि सलहेश फूलबारीको पानी प्रयोग गर्नुको साथै हैजा महामारी आउँदा पनि सलहेश फूलबारीको पानी औषधि मानेर खाएपछि निको हुने गरेको जनविश्वास छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया