मेयर-उपमेयर आरोप-प्रत्यारोपमा, खुलामञ्चको जग्गा दलालको हातमा !

 बैशाख १३, २०७६ शुक्रबार १९:३१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौकाे खुलामञ्च अतिक्रमण नियाेजित रुपमै गराइएकाे भन्दै चाैतर्फी आलाेचना र विराेध सुरु भएकाे छ ।  रत्नपार्कतर्फको पुरै भागमा व्यापारिक प्रयोजनको लागि ४० वटा सटर निर्माण गरिएपछि विरोध हुन थालेको थियो ।

गएको वैशाख १२ गते खुलामञ्च अतिक्रमण भयो भन्दै काठमाण्डौवासीले विरोध प्रदर्शन गरेका थिए । त्यसपछि यसमा सम्बन्धित निकाएको ध्यान तानियो । यसरी अतिक्रमण गरी बनाइएका सटर तथा स्टल यही वैशाख मसान्तसम्म हटाउन स्थानीयवासीले काठमाण्डौ महानगरपालिकालाई समयावधि दिएका छन् ।

निर्माणाधीन काठमाण्डौ भ्यू टावरकाे निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले सम्झौताविपरीत अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीयवासी आन्दोलित बनेका हुन् ।  यसै विषयलाई लिएर स्थानीयवासीले बिहीबार विरोध प्रदर्शन गरेका थिए ।

जलेश्वर निर्माण कम्पनीले ४० वटा सटर निर्माण गरेर बेच्न लागिसक्दासम्म पनि महानगरपालिकाले देखेन वा देखेर पनि नदेखेकाे जस्ताे गर्याे भन्ने आशंका उब्जिएकाे छ । नियमित त्यही बाटाे ओहाेरदोहाेर गर्दा मेयर र उपमेयरलगायतका जनप्रतिनिधिका आँखा खुलामञ्चमा जाँदै गएन त ? 

थाहा पाइसकेपछि पनि निर्माण गरिएका संरचनालाई तत्कालै भत्काउनमा किन ढिला भइरहेको भन्दै आम मानिसले महानगरपालिकालाई प्रश्न गरिरहेका छन् । तर जिम्मेवार व्यक्तिहरु भने एकअर्कामाथि दोषारोपण गर्दै छन् ।

यसबारे मेयर विद्यासुन्दर शाक्य आफूले यसबारेमा चैत्र २४ गते मात्र जानकारी पाएको बताउनुहुन्छ । त्यसपछि उपमेयर हरिप्रभा खड्गीलाई यसबारे अनुगमन गर्न निर्देशन दिए पनि खड्गीले कुनै अनुगमन नगरेको भन्दै उहाँ उपमेयरमाथि दोष लगाउनुहुन्छ । 

उहाँ आफूले उपमेयरलाई यसबारे अनुगमन गर्न बारम्बार बताइरहँदा पनि नटेरेको र आफूलाई लिएर उपमेयरले खुलामञ्चसँग राजनीति गरिरहनुभएको भन्दै मिडियामा  आक्राेश पाेख्नुभएकाे छ ।

उता उपमेयर भने आफूले नै यस विषयमा मेयरको ध्यानाकर्षण गराएको र उहाँले कुनैै पनि चासो नदेखाएको भन्दै मेयरमाथि दोष थुपार्नुहुन्छ । ‘मैले नै मेयरसाबलाई नगरपरिषदको बैठकमा चैत्र २४ गते नै यसबारे ध्यानाकर्षण गराएको थिएँ’, उपमेयर खड्गीले भन्नुभयो, ‘तर पनि मेयरसाबले त्यतिबेला कुनै निर्णय गर्नुभएन । त्यसपछि म कसरी काम अगाडि बढाउन सक्छुँ ?’

उहाँले कुनै पनि विषयमा मेयरले प्रष्ट निर्णय नगर्ने र मनोमानी गर्ने बानीका कारण सूचना आदानप्रदानमा सधैँ समस्या आउने गुनासो पोख्नुभयो ।

वैशाख १३ गते मेयरले अनुगमन र सुपरिवेक्षण विषयमा लिखित निवेदन पठाउनुभएको र अब त्यसबारे एक्सन अगाडि बढाउने उहाँले जानकारी दिनुभयो । उपमेयर खड्गीले भन्नुभयो, ‘आज बल्ल मैले मेयरसाबबाट आधिकारिक पत्र प्राप्त गरेको छुँ, मलाई यसैको पर्खाइ थियो । अब आइतबार नै बैठकमा यसबारे छलफल गरिनेछ र एक हप्तामै मुद्धाको टुङ्गो लाग्नेछ । म पनि त उपमेयर हाे नि आधिकारिक सूचनाबीना कसरी काम अगाडि बढाउने ?’ 

उहाँले अवैधानिक रुपमा निर्माण गरिएका संरचनाहरु जसरी भए पनि भत्काइने बताउनुभयो, ‘जसले जुन उद्देश्यले निर्माण गरेको भए पनि कानुनविपरीत निर्माण गरिएका सबै संरचना भत्काइन्छ ।’

यति धेरै अतिक्रमण भइसक्दा सम्म पनि किन कसैको ध्यान जान सकेन । आफ्नै वडा भित्र यत्रो चलखेल हुँदा पनि तपाईँ किन मौन बस्नुभएको भन्ने प्रश्नको जवाफमा खड्गीले भन्नुभयो, ‘जब मैले थाहा पाएँ तब तत्कालै मेयसाबलाई जानकारी गराइसकेकी थिएँ नि, के यो उहाँको जिम्माको कुरा होइन र ?’ 

कसैकोे निर्देशनबीना यति ठूलो संरचना निर्माण गर्न नसिकिने बताउँदै उपमेयर खड्गीले आक्रोश व्यक्त गर्नुभयो, ‘कसैको आशीर्वादले यति ठूलो काम अगाडि बढाइएको हो, यत्रो लगानी गरेर सटर निर्माण गर्ने काम त त्यतिकै सम्भव हुँदैन नि ।’

ठेकेदार कम्पनीले यसरी खुलामञ्च अतिक्रमण गरेको कसको आर्शीवादले हो त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यो त अनुगमन पछि नै थाहा हुन्छ, अहिले आधिकारिक प्रमाणबीना मैले केही पनि भन्न मिल्दैन ।’

पुरानो बसपार्कमा भ्यू टावर बन्ने भएपछि तीन वर्ष अगाडि त्यहाँबाट बसपार्क खुलामञ्चमा सारिएको थियो । खुलामञ्चको आधा भागमा रहनेगरी अस्थायी रुपमा राखिएको बसपार्कमा अहिले पक्की सटरहरु निर्माण भएका हुन् । 

तत्कालीन कामपा प्रमुख तथा प्रशासकीय अधिकृत रुद्रसिंह तामाङले त्यतिबेला आफूले टावर बनाउने कम्पनीलाई  बढीमा एक वर्षको समयका लागि मात्रै खुलामञ्च दिएको बताउनुभयो ।

सार्वजनिक खुला क्षेत्रमा महानगरको सहमतिबीना व्यापारिक प्रयोजनमा सटरहरु निर्माण गर्न नपाइने भन्दै तामाङले खुला मञ्चमा सार्वजनिक शौचालय, बस काउन्टर र एउटा शहरी सेवा केन्द्रबाहेक अन्य खोल्ने गरी आफूले अनुमति नदिएको जिकिर गर्नुभयो । 

बिहिबार भएकाे विराेधपछि अहिले सटरहरु बन्द गरिएका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया