गफ समृद्धि र सुशासनको, काम बेथिति र भ्रष्टाचार

 बैशाख १५, २०७६ आइतबार १३:४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक भाषणमा भन्न नछुटाउने विषय हो समृद्धि र सुशासन । हरेक कार्यक्रममा प्रधानमन्त्रीले समृद्धि र सुशासनका गफ गर्न नछाडेकाले अहिले सरकारी, गैरसरकारी हरेक कार्यक्रमका साथै चिया पसलदेखि चोक चौतारोसम्म पनि यही विषयमा चर्चा हुने गरेको छ ।   

झण्डै दुई तिहाई मतका साथ सरकार सञ्चालन गरेको वर्तमान सरकारले आफ्नो मुख्य नारा नै समृद्धि र सुशासन भएको बताउने गर्छ । जहाँ गए पनि प्रधानमन्त्री ओली समृद्धि र सुशासनको कुरा गरेर थाक्नु हुन्न । मन्त्रीहरु पनि प्रधानमन्त्रीको सिको गर्दै समृद्धि र सुशासनकै भाषण दोहोर्‍याई तेहेर्‍याई भनिरहन्छन् । 

तर देशमा जताततै बेथिति झाँगिएको छ । बालुवाटार सार्वजनिक जग्गा भूमाफियाको कब्जामा पुगेको प्रकरण सेलाउन नपाउँदै खुलामञ्च नै बिक्री भएको खबरले अहिले सर्वत्र चर्चा पाएको छ ।

सरकारका मन्त्रीहरुको काम गराई पनि त्यस्तै छ । आफू र आफ्ना निकटलाई योजना दिएर छुट्टै कामका लागि भनिएको रकम रकमान्तर गर्ने क्रम बढेको छ । 

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र सामाजिक विकासमन्त्री नवलकिशोर साहले २ अर्ब ३७ करोड रुपैयाँ यसरी रकमान्तर गरेर वितरण गरेको खुलेको हो । 

यस्तै एनसेलको कर असुलीमा पनि लामो समयदेखि विवाद कायमै छ । झण्डै ३९ अर्ब राजश्व असुली गर्नुपर्ने भन्दै ठूला करदाता कार्यालयले हिसाब नै निकालेको छ । तर असुली गर्न भने सकेको छैन । 

यी त उदाहरण मात्रै हुन् । यी र यस्ता बेथितिका घटनाहरु अहिले मौलाउँदै गएको छ । तीनै तहको सरकारले समृद्धि, विकास र सुशासन ल्याउला भन्ने नागरिकको अपेक्षा विपरित झनै बढी भ्रष्टाचार र बेथिति मौलाउँदै गएको छ ।  

यसले प्रधानमन्त्रीले सँधै फलाक्ने गरेको समृद्धि र सुशासनका कुरालाई खोक्रो आडम्बर सावित गराईदिएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउनुहुन्छ । 

अहिले त जसले जे गरे पनि हुने प्रवृत्ति मौलाएको उहाँ बताउनुहुन्छ । सत्तारुढ पार्टीकै महासचिव बालुवाटार जग्गा प्रकरणको मतियार हुनुले सरकारको काम गराईमा नै प्रश्न चिन्ह उत्पन्न भएको श्रेष्ठको भनाइ छ । ‘समृद्धि, समृद्धि मात्रै भन्ने तर, समृद्धि कसरी भेट्टाउने, सुशासन कसरी कायम गर्ने भन्नेबारे सरकारसँग कुनै योजना छैन’ श्रेष्ठ भन्नुहुन्छ ।  

समृद्धि र सुशासन भन्ने कुरा नेताका लागि नागरिक अलमल्याएर राजनीति गर्ने औजारजस्तो मात्र बनेको उहाँको ठम्याइ छ । ‘समृद्धि कसरी आउँछ ? समृद्धिको तहमा पुग्न सरकारसँग आवश्यक योजना नै छैन,’ श्रेष्ठ भन्नुहुन्छ, ‘भएका स्रोत साधनको पनि उपयोगभन्दा दुरुपयोगका दृश्य बढी देखा परेकाले यो नागरिक अलमल्याउने खेल मात्रै हो ।’ 

अर्का विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम पनि अचेल सरकारका काम गराई देखेर नागरिकहरु वाक्कदिक्क बनेको बताउनुहुन्छ । प्रधानमन्त्रीले सँधैजसो भन्ने गरेको समृद्धि र सुशासनको कुरो सुन्दा हिजोआज आफूलाई नै लाज लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।  

वर्तमान सरकार अहिलेसम्मकै सबैभन्दा शक्तिशाली सरकार हो । झण्डै दुई तिहाई मत भएको सरकार भ्रष्टाचार र बेथितिमै डुबेपछि समृद्धिको सपना पूरा हुनै नसक्ने विश्लेषक गौतम बताउनुहुन्छ । ‘अहिले भनेको त सरकार कम बोल्ने हो, काम धेरै गर्ने हो नि,’ उहाँ भन्नुहुन्छ, ‘तर यहाँ त प्रधानमन्त्री आफैँ सानो सानो कुरामा पनि जवाफ दिँदै हिँड्ने र सधैं समृद्धि समृद्धि भन्दै अलाप्दै हिँड्नाले झनै सरकारको विश्वसनियतामाथि नै प्रश्न उब्जेको छ ।’

जहाँ बेथिति र भ्रष्टाचारका कुरा आउँछन् त्यहाँ सरकारले तदारुकताका साथ काम गर्नुपर्ने उहाँको भनाई छ । तर सत्तारुढ पार्टीकै महासचिव सरकारी जग्गा हडप्ने मतियार बन्दा पनि उनलाई कारबाहीको सट्टा संरक्षण गर्दा नागरिकमा आक्रोश उत्पन्न भएको उहाँले बताउनुभयो ।

खुलामञ्च नै बिक्री भइरहँदा पनि त्यसमा संलग्नलाई कारबाही गर्न स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म उदासिन हुनुले सरकारले भन्ने गरेको समृद्धि र सुशासनलाई नै गिज्याएको गौतम बताउनुहुन्छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया