ओडिशाले वर्षौंदेखि यसरी गर्दैछ आँधीको सामना !

 बैशाख २०, २०७६ शुक्रबार ९:३७:३२ | एजेन्सी
unn.prixa.net

शुक्रबार आएकाे चक्रवात फानीकाे प्रभाव

सन् १९९९ मा भारतको ओडिशा राज्यमा २६० किलोमिटर प्रतिघण्टामा आएको आँधीले तहसनहस पारेको थियो । 

त्यो ‘सुपर साइक्लोन’ थियो, जसका लागि ओडिशा तयार नै थिएन । त्यस आँधीले दश हजारभन्दा बढी मानिसको ज्यान लियो । कैयौँ गाउँको त नामोनिशान नै मेटाइदियो । 

शुक्रबार आएकाे चक्रवात फानीकाे प्रभाव

त्यसो त बंगालको खाडीमा अवस्थित ओडिशा हरेक वर्ष आँधीसँग जुधिरहेको हुन्छ । तर सन् १९९९ को ‘सुपर साइक्लोन’ ले धेरै क्षति पुर्याएको थियो । जगतसिंहपुर जिल्लामा मात्रै यो आँधीले ८ हजार मानिसको ज्यान लिएको थियो । 

तर गएका बीस वर्षमा ओडिशाले चक्रवाती आँधीसँग जुध्न धेरै कुरा सिकिसकेको छ । 

यसको पहिलो उदाहरण हो ‘पाइलिन’ आँधी । १२ अक्टोेबर, २०१३ का दिन २६० किलोमिटर प्रतिघण्टाको गतिमा आएको पाइलिन तुफान ओडिशाको गोपालपुर तटमा ठोक्किएको थियो । 

त्यसबेला आँधी आउनुभन्दा पहिले नै पूर्व तयारीका साथ उद्धार र राहतका लागि तयारी गरिएको थियो । बिजुली गएको थियो । स्याटेलाइट फोनले पनि काम गरेको थिएन । बीबीसी हिन्दीका पत्रकार सलमान रावी त्यसबेलाको घटना सम्झँदै भन्छन्, ‘यस्तो तुफान मैले जीवनमा देखेको थिइनँ । अँध्यारोमा घरका झ्यालका सिसा फुटेका आवाज आइरहेका थिए । ती आवाज मेरो मस्तिष्कमा वर्षौंसम्म आइरहनेछ ।’

‘तितली’ सँग जुध्न सफल ओडिशा

गएको वर्षको अक्टोबरमा ओडिशा, आन्ध्र प्रदेश तथा पश्चिम बंगाल राज्यले ‘तितली’ नामक आँधीको सामना गर्यो । यसलाई तीव्र गतिको आँधीको रुपमा वर्गीकरण गरिएको थियो । तितलीको तीव्रता पाइलिनको भन्दा कम थियो । ओडिशाको विपद व्यवस्थापन विभागले पहिले नै तितलीको आगमनबारे जानकारी पाएको थियो ।

त्यसैले पनि प्रभावित हुन सक्ने क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो । पछिल्ला २० वर्षमा ओडिशाको विपद व्यवस्थापन विभागले प्राकृतिक विपत्तिसँग सामना गर्न बृहत् योजना बनाएको छ । जसलाई विश्व बैंकले समेत आर्थिक सहयोग गरेको छ । 

विपदबाट प्रभावित व्यक्तिहरुलाई राहत तथा उद्धारका लागि विभिन्न ठाउँमा राहत शिविर तथा शेल्टर घरहरु बनाइएको छ । 

सन् १९९९ को विनाशकारी आँधीपछि ओडिशा सरकारले प्राकृतिक विपत्तिबाट कमभन्दा कम जनधनको क्षति होस् भनेर विभिन्न योजनाहरु बनाइरहेको छ ।

फानीका लागि तयारी

बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानी केही घण्टापछि भारतको ओडिशा राज्यको तटीय क्षेत्र पुरीमा आइपुग्ने भएको छ । फानी आँधीका कारण त्यस क्षेत्रमा वर्षा सुरु भैसकेको छ । 

तटीय क्षेत्रका झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

जल सेना र कोस्ट गार्डलाई सम्भावित घटनालाई कम गर्न अलर्ट अवस्थामा राखिएको बीबीसीले जनाएको छ । मौसम विभागका अनुसार यो प्रणाली ओडिशाको तटीय क्षेत्र मा भित्रिएको छ  । त्यसपश्चात यो प्रणाली फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ  ।

पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो चक्रवात ओडिशाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्नेछ । त्यसपछि यसले बंगलादेशका केही भागमा समेत प्रभाव पार्नेछ । यसको प्रभाव नेपालका हिमाली भेगमा समेत पर्ने नेपाली मौसमविदहरुले जनाएका छन् । मौसमविदहरुका अनुसार जमिनको सम्पर्कमा आएपछि यो चक्रवातको तीव्रता कम हुनेछ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार १८० किलोमिटर प्रतिघण्टामा आएको फानीले रुखहरु उखेलेको छ । समुद्रमा डेढ मिटरसम्मको  छाल आएको छ । तटीय क्षेत्रमा कोस्टल गार्डका ४ वटा जहाज खटाइएको छ । त्यस्तै उद्धार तथा राहतका लागि ५० वटा टिम तयारी अवस्थामा राखिएको छ । विभिन्न शेल्टर घरहरुमा मानिसहरुलाई पहिलेदेखि नै राखिएको छ । एक हप्ताअघि देखि नै मानिसहरु शेल्टरमा आएर बसेका छन् । प्रभावित क्षेत्रका झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

ओडिशा सरकारले विपद् व्यवस्थापनका लागि उदाहरणीय काम गरिरहेको उसको पूर्व तयारीबाट पनि थाहा हुन्छ । ओडिशाले यस्ता प्रकारका प्राकृतिक विपत्तिका लागि सूचना प्रविधिको सहायताले कमभन्दा कम क्षति होस् भनेर सञ्चालन गरेका कामहरु अरु देशका लागि पनि सिक्ने विषय हुन सक्छ ।

देखिन थाल्यो नेपालमा पनि चक्रवात ‘फानी’ को प्रभाव

तीव्र गतिमा ओडिशाकाे तटीय क्षेत्रमा ठाेक्किँदै चक्रवात ‘फानी’, ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारियाे

 


 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया