गुच्ची च्याउ संकलन कार्य तीव्र: च्याउ किन्ने व्यापारीहरु भने आएनन्

 बैशाख ३१, २०७६ मंगलबार १४:३१:१६ | रमेश ऐडी
unn.prixa.net

हुम्ला - मह‌ंगाे मानिने गुच्ची च्याउ अहिलाे हुम्ला जिल्लामा संकलन कार्य दैनिक भइरहेको छ ।

गुच्ची च्याउ संकलन गर्न गाउँघरबाट दैनिक रुपमा युवायुवतीदेखि बालबालिकाहरुसम्म जंगलतिर धाइरहेका छन् । यो वर्ष हिउँदकाे समयमा हिमपातसहित वर्षा भइरहेकोले गुच्ची च्याउ संकलनमा वृद्धि भइरहेको छ । गुच्ची च्याउको गत फागुन महिनादेखी नै सुरु भएकोले हुम्ला जिल्लाका किसानहरुले प्रतिघर एक किलोसम्म संकलन गरिरहेका छन् । 

वर्षासँगै आकाशमा गडयाङगुडुङको आवाजका आधारमा वनमा उम्रने गुच्ची च्याउलाई हुम्लामा गड्रकी च्याउका नामले चिनिन्छ । विगतमा तरकारीको रुपमा प्रयोग हुने गुच्ची च्याउ स्थानीय व्यापारीले झण्डै १० वर्षअघि किनिदिएपछि यसको व्यापार सुरु भएको हो ।

गुच्ची च्याउ हुम्ला जिल्लाका ताजाकोट गाउँपालिकाको मदना पाँदा, अदानचुली गाउँपालिकाको वारीगाउँ, कालिका चंखेल्नी गाउँपालिकाको मेल्छाम, श्रीमष्ठा सर्केगाढ गाउँपालिकाको रिप, उनापानी सर्किदेउ र खार्पुनाथ गाउँपालिकाको राया गाउँमा प्रर्याप्त पाइने गरेको जिल्ला वन डिभिजन कार्यलय हुम्लाको तथांकले देखाएको छ । 

याे च्याउ गएको वर्ष १० क्विन्टलसम्म निकासी भएको र याे वर्ष निकासीमा थप वृद्धि हुने अनुमान गरिएको छ । आम्दानीको राम्रो श्रोतको रुपमा रहेको गुच्ची च्याउ हुम्ला जिल्लामा फागुनदेखि जेठ महिनासम्म संकलन हुने गरेको छ । 

स्थानीयवासी च्याउ टिप्नको लागि बिहानै घरबाट खाना बाेकेर जंगलमा जाने र दिनभर च्याउ टिपेर साँझ घर फर्किने गरेको रिप गाउँका स्थानीयवासी गणेश महताराले बताउनुभयाे । भाग्यमानीले मात्र वनमा च्याउ पाउने विश्वास स्थानीयमा ब्याप्त छ । जंगलमा खोज्दै जाँदा च्याउ उम्रने ठाउँ चिनेकाले बढी च्याउ पाउने गरेकाे स्थानीयहरु बताउँछन् ।

च्याउलाइ सुरक्षित रुपले घरमा ल्याएर फूलका माला जस्तै उनेर सुकाएपछि मात्र व्यापारीले किन्ने गर्दछन् ।

यो वर्ष ठूला व्यापारी गाउँमा आएनन् ।

गुच्ची च्याउ टिप्ने समय सकिनैलाग्दा पनि ठूला व्यापारी गाउँमा आइनसकेको स्थानीयकाे भनाइ छ । अघिल्ला वर्षमा याे समयसम्म व्यापारीहरुले गाउँगाउँमा च्याउ संकलन गरिसक्थे तर याे वर्ष व्यापारी आइसकेका छैनन् । गाउँमा प्रति केजी १० देखी १५ हजारसम्म मूल्य पर्न थालेपछि व्यापारीहरु नआएको स्थानीय च्याउ व्यापारी कल्लाने बुढाले बताउनुभयाे । 

बजार भाउ कम भएको हुँदा यस वर्ष हुम्लाका गाउँमा व्यापारीहरु गाउँमा आएका छैनन् । गुच्ची च्याउको लागि हाल नेपाली बजार नेपालगञ्ज तथा काठमाडौ भए पनि मूल्य कम पाइने गरेको छ । सिमानाको तिब्बत बजारकाे ताक्लाकोटमा राम्राे मूल्य पाइने भए पनि व्यापार गर्न कानुनी रुपमा नपाइएको व्यापारीको गुनासोे रहँदै आएको छ । गुच्ची च्याउको लागि स्थानीय व्यापारीहरुले तिब्बत निकासीको पहल गरे पनि सहज नभएको व्यापारीेले जनाएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया