फेरिँदै दासढुंगा

 जेठ ३, २०७६ शुक्रबार १३:३३:३७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा धेरै घुम्ती छन् । पहाडको फेदी र नदीको किनारै किनार रहेको राजमार्ग पार गर्दा धेरै घुम्ती र मोड पार गर्नुपर्छ । यात्राका क्रममा सवारी साधन रोकेर चिया खाजा र खाना खाने झुप्रा टहरा थुप्रै स्थानमा भेटिन्छन् । त्यस्तै प्रकारका स्थान मध्ये दासढुंगा क्षेत्र पनि एक हो । 

कुनै समय सडकमा सवारी गुडाउने सवारी चालकलाई समान्य खाना खाजा र चिया खुवाउने टहरा होटल बसेको क्षेत्र । तल त्रिशूली नदी, माथि पहाड । नागबेली घुम्ती । नारायणगढ बजारबाट नजिक तर मुग्लिनबाट अलि टाढाको दूरीमा रहेको यो क्षेत्र २०५० साल सम्म खासै परिचित थिएन ।

जव २०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको दासढुगांमा जीप दुर्घटनामा परि निधन भयो त्यस पछि यो क्षेत्र जनजनको मनमनमा परिचित हुन पुग्यो । वामपन्थी आन्दोलनमा नेपालमा मात्र होइन कम्युनिष्ट विचार भएका विश्वका नागरिकले चासोका साथ हरिरहेका र बुझिरहेका जननेता भण्डारी र आश्रितको निधन भएको क्षेत्र दासढुंगा नेपालमा मात्र होइन विदेशका लागि समेत परिचित हुदै गयो । 

पूर्व र पश्चिमवाट राजधानी काठमाण्डौलाई जोडने महत्वपूर्ण राजमार्ग नारायणगढ मुग्लिन सडकखण्डमा पर्ने दासढुंगा पुग्दा जो–कोही यात्रुको चासोको क्षेत्र बन्ने गर्छ । कतिपय एकैछिनका लागि भए पनि यो क्षेत्रमा रोकिन्छन्, घुम्छन् र हिँड्छन् । दुर्घटनास्थलमा दुई नेताको शालिक र जीप खसेको क्षेत्रमा सडकबाट नदी किनारसम्म पुग्न सक्ने गरी सिँढी बनाइएको छ । सामान्य पार्क जस्तो बनाइएकोले केही समय थकाई मार्ने थलो समेत बन्नेगरेको छ । 

चर्चित नेताको दुर्घटना पछि दासढुंगाको नाममा गीत बन्यो, फिल्म बन्यो, अनेक दस्तावेज तयार भए सबैको चासो बढेकै कारण दासढुंगा सबैका लागि परिचित भयो । अब परिचित दासढुंगा थप चर्चित हुँदैछ । यो क्षेत्रमा विकासका काम अगाडी बढेका छन् । यो क्षेत्रलाई जोडेर पर्यटकीय क्षेत्र बनाउने प्रयासले सार्थकता पाउँदै छ ।

२०५० साल जेठ ३ गते पछि सर्वत्र चासोको रुपमा रहेको यो क्षेत्रको जति संरक्षण हुनुपर्ने हो तर त्यति भएको पाइँदैन । संरक्षण गर्नका लागि अनेक प्रयास गर्दा पनि प्रभावकारी सफलता देखिएको थिएन । घटना दासढुगांमा भए पनि नेता भण्डारीको शव चितवनको गाँजीपुरमा फेला परेको थियो । अहिले दासढुंगा र गाँजीपुरलाई जोडेर वृहत विकासको योजना अगाडि सारिएको छ । 

दासढुंगालाई राजनैतिक अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष राखिएको छ । विगतमा हरेक वर्षको जेठ ३ गते दासढुंगामा पुगेर नेताका शालिकमा माल्यार्पण गर्नेवाहेक देखिने काम केही हुन सकेन । तर, अहिले गुरुयोजना बनाएर काम अगाडि बढाएको बताउँदै नेपाल कम्युनिष्ट पार्टीका नेता देवी ज्ञवालीले दासढुंगा क्षेत्रलाई राजनैतिक अध्ययन केन्द्रको रुपमा विकास गरिने बताउनुभयो । 

पछिल्लो समय विज्ञ टोलीले दासढुङ्गा र गाँजीपुरको गुरुयोजना तयार गरिरहेको छ । दासढुङ्गाको करिब १२ बिघा क्षेत्रफललाई समेटेर सडक, उद्यान र अन्तर्राष्ट्रिय राजनीतिक अध्ययन केन्द्र निर्माणको तयारी  भइरहेको मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले बताउनुभयो । 

दासढुंगा र गाजीपुरको विकासका लागि वृस्तीत परियोजना प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पुगेको बताउदै मदनभण्डारी फाउण्डेसन चितवनका सह सचिव तिलक रिमालले प्रदेश नम्बर ३ सरकारको संयोजनमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीकोे काम अगाडि बढेको बताउनुभयो । सात सदस्य रहेको विज्ञ समुहले काम गरिरहेको उहाँले बताउनुभयो ।  

चितवनतर्फ दासढुंगामा रहेको शालिक राखिएको क्षेत्र वरपरको उद्यानलाई थप व्यवस्थित गर्ने र तनहुँतर्फको क्षेत्रमा पनि मदन–आश्रितको ठूलो शालिक र उद्यान निर्माण गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । अवधारणा पत्र तयार गरी प्रदेश सरकार र केन्द्र सरकारलाई बुझाउने बताउँदै उहाँले दासढुङ्गा क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने जानकारी दिनुभयो । 

दासढुङ्गा घटना पश्चात् पूर्वसांसद स्व. जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुंङ्गा व्यवस्थापन समिति गठन भएको थियो । समितिले सुरुआतका चरणमा दासढुंगामा उद्यान बनाउन र शालिक निर्माण गरी थप योजनाका काम अगाडि बढाउने प्रयास गरिएको थियो । दीर्घकालीन प्रभाव पार्ने काम खासै हुन सकेको थिएन । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया