‘मिनी फेवाताल’को रुपमा विकसित दाङको जखेरा ताल

 जेठ ७, २०७६ मंगलबार १३:२:३४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – चुरे पहाडको काखमा रहेको छ एउटा मन्दिर । जसलाई तालले घेरेको छ, त्यही तालमाथि डुङ्गामा फन्को लगाउँदै मन्दिर पुग्न सकिन्छ । अहिले यही दृश्यले दाङको लमही नगरपालिका वडा नम्बर ३ मा रहेको जखेरा तालले आन्तरिक पर्यटकलाई तानिरहेको छ ।

७ बिगाहा क्षेत्रफलमा फैलिएको यो ताललाई स्थानीयहरुले समिति बनाएर संरक्षण गर्न थालेपछि रमाइलोका लागि होस् वा वनभोज अथवा घुम्नका, सबैको रोजाइको थलो बन्न थालेको छ । यहाँ दाङ मात्रै नभई देशका धेरै जिल्लाबाट घुम्न आउनेहरुको सङ्ख्या बढ्दै गएको स्थानीयहरु बताउँछन् ।

कुनै समय स्थानीय पाँच गाउँका किसानहरुले सिँचाइका लागि पानी संकलन गर्न बनाएको ताल नै अहिले जखेरा तालको नामले परिचित छ । यसको विकासका लागि लमही नगरपालिकाले गुरुयोजना बनाएको छ । तर त्यस अनुसारका काम भने अझै सुरु हुन नसकेको ताल संरक्षण समितिका उपाध्यक्ष लोकमणि बञ्जाडे बताउनुहुन्छ ।

यहाँ विशेष गरी वनभोज खान आउनेहरु धेरै हुन थालेपछि त्यसका लागि आवश्यक संरचनाहरु बन्न थालेका छन् । यो ताल नजिकैको वनमा रहेका जनावर तथा चराचुरुङ्गीको पानी खाने थलो पनि हो । ताल बसाइ सर्ने चराहरुको गन्तव्य पनि भएकोले ५ नम्बर प्रदेशकै पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने स्थानीय केशव पोख्रेल बताउनुहुन्छ ।

तालनजिकै रहेका होटल तथा रेस्टुरेण्टले दाङकै लोकल तथा बँधिया भालेका परिकार बनाउनाले पनि यस्को छुट्टै पहिचान बन्दै गएको छ । 

 


 

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया