२४ पटक सगरमाथा चढेका कामीरिता भन्नुहुन्छ : ‘यो मेरो प्यासन हो’

 जेठ ११, २०७६ शनिबार १९:१४:२२ | रासस
unn.prixa.net

काठमाण्डाै – “सगरमाथा कति पटक चढ्नुहुन्छ भनेर प्रश्न नसोध्नुस्, सगरमाथा चढिरहन्छु, यो मेरो ‘प्यासन’ हो”, सगरमाथाको २४औँ पटक सफल आरोहण गरेर फर्किएका कीर्तिमानी आरोही कामीरिता शेर्पाले भन्नुभयो । 

यही जेठ ७ गते २४औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका आरोही शेर्पाले शनिबार काठमाण्डाै फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको स्वागतपछि संंक्षिप्त प्रतिक्रिया दिँदै सगरमाथा आरोहणलाई आगमी वर्ष पनि निरन्तरता दिने बताउनुभयो ।

चौबीसौँ पटक सगरमाथाको सफल आरोहण गर्दा कस्तो अनुभूति भएको छ भन्ने जिज्ञासामा आरोही शेर्पाले सफलतापूर्वक सगरमाथा आरोहण सकेर फर्किएकामा आफूलाई असाध्यै खुशी र गर्वको महसुस भएको बताउँदै शारीरिक अवस्था पनि तन्दुरुस्त रहेको जानकारी दिनुभयो । यस यामको आरोहण सन्दर्भमा आरोही शेर्पाले मौसमले साथ दिएकाले नै आफूसहितका आरोहीले सफलता पाएको उल्लेख गर्नुभयो । उहाँका धर्मपत्नी ल्हाक्पा जाङबु शेर्पाले श्रीमान्को सफलताले आफूमा खुसीको सीमा नरहेको बताउनुभयो ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४औँ पटक सगरमाथाको सफल आरोहण सकेर आज काठमाडौँ फर्किनुभएको हो । आरोही शेर्पालाई विमानस्थलको आन्तरिक टर्मिनल परिसरमा भव्य स्वागत गरिएको थियो । उपस्थित शेर्पा समुदायले परम्पराअनुरुप शेर्पा पहिरनमा झाँकी, सांस्कृतिक बाजागाजासहित कीर्तिमानी शेर्पालाई स्वागत गरेका थिए ।

शेर्पालाई नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा, महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङसहितका पदाधिकारी तथा सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पालगायतले स्वागत गरेका थिए । कीर्तिमानी आरोहीको स्वागतका लागि धर्मपत्नी ल्हाक्पा जाङबु शेर्पालगायत परिवार आफन्त तथा पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिका उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो ।

सोलुखुम्बुको थामेगाउँमा जन्मनुभएका ४९ वर्षीय कामीरिता शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो । वसन्त ऋतुको यस याममा कामीरिताले सात दिनको अवधिमै दुई पटक सगरमाथा अरोहण गर्नुभएको थियो । उहाँले आगामी वर्षमा पनि आरोहणलाई निरन्तरता दिने बताउनुभयो ।

सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार कामीरिता शेर्पाले ७ गते बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको २४औँ पटक सफल आरोहण गर्नुभएको थियो । त्यसअघि उहाँले जेठ १ गते बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको २३औँ पटक आरोहण गरी कीर्तिमान कायम गर्नुभएको थियो ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने यसअघि नै बताइसक्नुभएको छ । शेर्पाले एकै याममा दुईपटक सगरमाथा चढेको यो चौथो पटक हो । यसअघि उनले तीन आरोहण याममा दुई/दुई पटक सगरमाथा चढिसक्नुभएको थियो । कामीरिताले  चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पाएकाले पनि सन् २००९, २०१० र २०१३ को वसन्त ऋतुको एकै याममा दुईपटक सगरमाथा चढ्नुभएको थियो ।

कामीरितापछि अहिलेसम्म आप्पा शेपा, ङ्मिानुरु शेर्पा र फुर्वाटासी शेर्पाले समान २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाले समान १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७  र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गर्नुभएको छ ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले दिनुभएको जानकारीअनुसार यस याममा जारी हिमाल आरोहणको क्रममा आजसम्म करीब ६०० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यो विभिन्न एजेन्सीमार्फत आएको विवरण हो । कति सङ्ख्यामा आरोहण भयो भन्नेबारे पुष्टि भइनसकेको विभागले जनाएको छ ।

गएको तीन दिनयता सगरमाथा आरोहणमा ट्राफिक जाम नै भएका खबर आएका छन् । खासगरी बिहीबार र शुक्रबार चुचुरोमा बढी आरोहीको भीड लागेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए । सम्पर्क अधिकृत श्रेष्ठले सगरमाथाको आरोहण यही १३ गते सोमबार अर्थात् मे २७ सम्म सकिनेछ । अन्तिम आरोहण १३ गते हुनेछ । जसमा २० देखि २५ आरोही चुचुरो चुम्ने तर्खरमा छन् ।

विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए । यस्तै, सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।

सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् । यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गएको वैशाख ३१ गते सुरु भएको थियो । 
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया