सरकारको साइज र आकार मोटाउँदै जाँदा अर्थतन्त्र डरलाग्दो दुश्चक्रमा फस्दै छ : विनाेद चौधरी

 जेठ २१, २०७६ मंगलबार १७:४३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कंग्रेसका सांसद विनोदकुमार चौधरीले संघीयताका कारण देशको अर्थतन्त्र डरलाग्दो दुश्चक्रमा फस्दै गएको बताउनुभएको छ । 

संघीयता खर्चिलो भएकाले त्यसलाई धान्नै नसक्ने अवस्थामा देश पुगेको भन्दै उहाँले तीन तहको सरकारका कारण सरकारको साइज र आकार मोटाउँदै गए पनि आन्तरिक आम्दानी नबढ्दा अर्थतन्त्रले देश धान्नै नसक्ने अवस्थामा पुग्न लागेको बताउनुभयो । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको छलफलमा सहभागी हुदै सांसद चौधरीले स्थानीय सरकार, सुरक्षा निकाय लगायतमा हुने खर्चलाई राजश्वले धान्न नसक्ने भएकाले देश डरलाग्दो दुश्चक्रमा फसेको बताउनुभएको हो ।   

गतिशिल अर्थतन्त्रका लागि ६० प्रतिशत विकास खर्च र ४० प्रतिशत चालु खर्च हुनुपर्नेमा त्यसो नभएको भन्दै उहाँले बजेटमा अनुमान गरिएको विकास खर्च पनि खर्च गर्ने क्षमता सरकारसँग नरहेको बताउनुभयो । बिकास खर्च कम र चालु खर्च बढ्दै जानुले देशको अर्थतन्त्र कमजोर बनाउदै लैजाने र अन्ततः त्यसले उच्च करको स्थितिमा पुर्‍याउने दाबी उहाँले गुर्नभयो । 

निर्यात घट्नु, आयात बढ्दै जानु तथा चालु खर्चका लागि उत्पादनले धान्न नसक्ने गरी करको दरमा वृद्धि गर्नुपर्ने अवस्था उत्पन्न हुने दिशामा देश अघि बढेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो । यही पाराले देश अघि बढ्ने हो भने केही वर्षमा विश्वमै उच्च कर दर भएको देशमा नेपाल पनि पर्ने दावी पनि उहाँले गर्नुभयो ।

सम्मृद्ध नेपालको अभियानलाई सार्थक बनाउने स्वरुपमा बजेट नआएको टिप्पणी उहाँले गर्नुभयो । स्थिर सरकार गतिशिल अर्थतन्त्रको निर्माण गरी नागरिकलाई लाभ दिन नसक्ने हो भने समाजिक न्यायका कारण आगामी दिन अझै कठिन परिस्थितिको सिर्जना हुने दाबी गर्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया