सांसदलाई १‍० कराेड दिनुपर्ने नेकपा सांसद रायमाझीकाे तर्क

 जेठ २१, २०७६ मंगलबार १७:१०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सांसद क्षेत्र पूर्वाधार विकास कोषको बजेट दश करोड पुर्‍याउन उपयुक्त हुने तर्क गर्नुभएको छ । 

आगामी आर्थिक वर्षको बजेटमा सांसद क्षेत्र विकास कोषका लागि सरकारले ६ करोड बजेट विनियोजन गरेकोमा आलोचना भइरहेका बेला उहाँले तत्कालका लागि त्यसलाई बढाएर १० करोडसम्म पुर्‍याउन उपयुक्त हुने बताउनु भएको हो ।

मंगलबार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि सांसद क्षेत्र पूर्वाधार विकास कोषलाई तत्कालका लागि कटौती गर्न नमिल्ने स्पष्ट पार्नुभयो । जनतामा सुख र समृद्धि छाएपछि सांसद क्षेत्र विकास कोषको बजेट कटौती गर्न आफूहरु सहमत हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले भने सरकारले ल्याएको बजेटले मुलुकलाई समृद्ध बनाउन नसक्ने दावी पनि गर्नुभयो । उहाँले कर्मचारीको तलब-भत्तालगायतमा मात्रै केन्द्रित रहेको बजेटले कसरी मुलुकलाई समृद्ध बनाउन सकिन्छ? भनी सरकारलाई प्रश्न पनि गर्नुभयो ।

नेता लेखकले सरकारले आफैले घोषणा गरेको ‘समृद्ध नेपालः सुखी नेपाली’ नारालाई यो बजेटले सम्बोधन गर्ने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया