विश्वकप क्रिकेट :  श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले हरायो

 जेठ २२, २०७६ बुधबार ७:२७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवशीय विश्वकपमा श्रीलंकाले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । पहिलो खेलमा न्यूजिल्याण्डसँग १० विकेटले पराजित श्रीलंकाले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस नियमका आधारमा ३४ रनको जित आत्मसाथ गरेको हो । 

वर्षाले प्रभावित भएपछि ४१ ओभरमा झारिएको खेलमा १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा १५२ रनमा समेटिएपछि श्रीलंकाको ३४ रनको जित निश्चित भएको हो । 

अफगानिस्तानका लागि नाजिवुल्लाह जदरानले सर्बाधिक ४३ रन जोडे । ३१.५ ओभरमा कप्तान करुणारत्नेबाट रनआउटको शिकार हुनुअघि उनले ५६ बलमा ६ चौका प्रहार गरेका थिए । अफगानिस्तानका ओपनर हज्रतुल्लाह जाजाईले ३० रन जोडे । कप्तान गुल्वादिन नइवले २३ रन जोडे ।

बलिङतर्फ श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए । म्यान अफ द म्याच बनेका उनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिए । भेट्रान बलर लसिथ मालिंगाले ३ विकेट लिए ।

यसअघि कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाको पारी वर्षाले प्रभावित भएको थियो । करिव २ घण्टा रोकिएर पुनः सुरु भएको खेल ४१ ओभरमा झारिएको थियो । श्रीलंकाले ३६.५ ओभरमा अलआउट हुँदै २०१ रनको स्कोर खडा गरेको थियो । तर, डकवर्थ लुइस नियमका आधारमा अफगानिस्तानलाई १८७ रनको विजय लक्ष्य दिइएको हो ।

श्रीलंकाकाले सुरुआत राम्रो गरेको थियो । कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । करुणारत्ने ३० रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका लहिरु थिरिमान्नेसँग मिलेर कुशलले थप ५२ रनको साझेदारी गरे ।

२१.२ ओभरमा श्रीलंकाको स्कोर १४४ थियो । थिरिमान्ने २५ रनमा आउट भएपछि उसको विकेटपतन सुरु भयो । कुशलले १ बलमा ८ चौकाको सहयोगमा ७ रन बनाउँदा अन्य सबै खेलाडी सस्तैमा आउट भए । 

श्रीलंकाबिरुद्ध मोहम्मद नावीले ४ विकेट झारे । उनले ९ ओभरमा ३० रन खर्चे । द्वालात जदरान र रासिद खानले दुर्द दुई विकेट लिँदा हमिद हसनले एक विकेट लिए ।

यो श्रीलंकाको उत्कृष्ट पुनरागमनसहितको जित हो । अफगानिस्तान भने विश्वकपमा अझै जितको खोजीमा छ । दुबै टिमले विश्वकपमा आफ्नो पहिलो खेलमा हार ब्यहोरेका थिए । अफगानिस्तान अष्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो भने श्रीलंका न्यूजिल्याण्डसँग १० विकेटले हारेको थियो ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया