मन्त्री यादवकाे प्रश्न : नुन चोर्नेलाई जेल हाल्ने, सुन चोर्नेलाई तक्मा भिराइदिने ?

 जेठ २४, २०७६ शुक्रबार १८:१४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले ऐन कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ । 

साना तथा मझौला व्यवसायी महासंघ नेपालको १६ औँ स्थापना दिवसको सन्दर्भमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ऐन कार्यान्वयनको दायित्वबारे सरकारका मन्त्रालयबीच नै अन्यौलता रहेकोमा असन्तुष्टि जाहेर गर्नुभएको हो । साना तथा मझौला उद्योगको विकास र प्रवर्द्धनका लागि राम्रा ऐन बने पनि कार्यान्वयनमा समस्या रहेको उहाँले बताउनुभयो । उहाँले स्वदेशी उत्पादन मंहगो भए पनि खरिद गर्नुपर्ने अनिवार्य व्यवस्था ऐनमा भए पनि कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो । ऐन कार्यान्वयन कसले गर्ने भन्नेमा नै सरकारका मन्त्रालय र निकायबीच अन्यौलता रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, 'स्वदेशी उत्पादन महंगो परे पनि किनुपर्ने ऐनमा व्यवस्था भए पनि लागु भएको छैन । लागु गराउने कुन मन्त्रालय हो त्यो थाहा छैन । ऐन कार्यान्वयनको जिम्मेवार संस्था प्रधानमन्त्री कार्यालयमा छ । ऊ खाली ऐन समातेर बसेको हुन्छ । नियमावली लागु गर्नका लागि मैले सही गरेको कागज ६ महिना चक्कर काटेर आयो फेरि फर्केर । तिम्रो अधिकारको विषय नै होइन भनेर । कानुन त राम्रो छ । त्यसको एउटा मन्त्री म पनि हो । मन्त्री नै चक्कर काट्ने के । त्यस्तो अवस्था छ ।'

साना, घरेलु तथा मझौला उद्योगीका लागि ऋणलगायत व्यवस्था पनि कार्यान्वयन हुन नसकेको भन्दै उहाँले ऐन कार्यान्वयन नगर्नेलाई सरकारले दण्डित गर्न नसकेको गुनासो गर्नुभयो ।  उहाँले कानुन कार्यान्वय लगायतमा सरकारलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, 'नुन चोर्नेलाई जेल हाल्ने, सुन चोर्नेलाई तक्मा भिराइदिने ? त्यसरी आर्थिक समृद्धि हुँदैन । देश अगाडि  बढ्न सक्दैन ।'

मन्त्री यादवले साना, लघु तथा मझौला उद्योगले रोजगारी सिर्जना गरी देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्‍याएको भन्दै विकास र प्रवर्द्धनमा सरकार उद्योगीसँग हातेमालो गरेर अघि बढ्न सधैँ तयार रहेको बताउनुभयो ।

महासंघका अध्यक्ष बाबुकाजी महर्जनले सरकारका निकाय र संघ संस्थाहरुमा मंहगो भए पनि स्वदेशी उत्पादनका बस्तुहरु अनिवार्य रुपले खरिद गर्नुपर्ने नियम कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो ।

कार्यक्रममा उद्योग व्यवसायीहरुले स्वदेशी उत्पादनको बजार प्रवर्द्धन, सहुलियत ऋणलगायतको व्यवस्था कार्यान्वन हुन नसकेको गुनासो गरेका थिए । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया