हावाहुरीले मुक्त कमैया र सुकुम्वासी बस्ती तहस नहस: क्षति नपुगेको घर भेट्टाउनै मुश्किल

 जेठ २४, २०७६ शुक्रबार १९:४९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - घरका चारैतिर भाँडाकुडा र लत्ता कपडाहरु छरिएका छन् । घरका छानाहरुमा लगाइएका जस्तापाताहरु छिमेकी बस्तीसम्म पुगेका छन् । बिहीबार बेलुका आएको विनाशकारी हावाहुरीले कैलालीका बस्तीहरु तहस नहस बनाएको छ ।

कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, कैलारी गाउँपालिकामा क्षति नपुगेको घर नै भेटाउन गाह्राे छ । सबैभन्दा बढी क्षति मुक्त कमैया र सुकुम्वासीको बस्तीमा भएको छ । पक्की घरहरुमा तुलनात्मक रुपमा कम क्षति पुगेकाे भए पनि जस्तापाता, खर र माटोले बनाइएका छानाहरु काम नलाग्ने गरि उडेएका छन् ।

घरका छानाहरु उडाउँदा घरभित्रको खाद्यान्न, लत्ताकपडा समेत भिजेको छ । हावाहुरीसँगै परेकाे पानीले खाद्यान्न कापी किताबलगायतका सामानसमेत भिजेका छन् ।

धनगढी उप–महानगरपालिका-९, बंगराकटानीकी ललिता सुवेदीले आफ्नो र भाइको सबै किताब, कापीहरु हुरीसहितकाे पानीले भिजाएको बताउनुभयो । हुरीले ललिताको घरमा लगाइएको जस्ता सबै उडाएपछि घरमा रहेको खाद्यान्न समेत काम नलाग्ने भएको छ ।

धनगढी उप–महानगरपालिका-७, मा रहेको मनाेहरा मुक्त कमैया शिविर,वडा नं-१७ मा रहेको धुझुन्ना मुक्त कमैया शिविर, हसनपुर शिविर र शान्ति कटानको दलित बस्तीमा सबैभन्दा बढी क्षति देखिएको धनगढी उप–महानगरपालिकाले जनाएको छ ।

‘घरसहित घरमा भएको सबै कुरा नोक्सान भएको छ’, धनगढी मनहेरा शिविरकी सिता चौधरीले भन्नुभयो, ‘अब कसरी छाना छाउने हो चिन्ता लागिरहेको छ ।’

धनगढी उप–महानगरपालिका प्रमुख तथा नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक नृपबहादुर वडले हावाहुरीले पूर्णरुपमा नोक्सान पुगेका वडामा मेस सञ्चालन गरेर खानेकुराको व्यवस्था गरिएको बताउनुभयो ।

‘वडा प्रतिनिधि र प्रहरी प्रतिनिधिको उपस्थितिमा क्षतिको विवरण संकलन गर्ने काम भैरहेको छ’, नगरप्रमुख वडले भन्नुभयाे, ‘पहिले उद्धार र राहतको काम गरिसकेपछि पुर्नस्थापनाको काम गर्छाैँ ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राहत र उद्धारको कामलाई तीव्रता दिने निर्णय गरेर काममा खटिसकेको बताउनुभयो । मानवीय क्षतिभन्दा भौतिक क्षति अत्यधिक भएको बताउँदै प्रमुख जिल्ला अधिकारी बोहराले सबै बिवरण संकलन गरिसक्न थोरै समय लाग्ने र स्थानीय सरकारसँग समन्वय गरेर क्षतिको विवरण संकलन गर्ने काम भैरहेको जानकारी दिनुभयाे ।

कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष लागुराम चौधरीले आफ्नो गाउँपालिकामा मात्रै १५ सयभन्दा बढी घरमा पूर्णरुपमा क्षति पुगेको बताउनुभयो । बिहीबार बेलुका ८ बजेदेखि झण्डै ९ बजेसम्म आएको हावाहुरीले गर्दा कैलालीमा २ जनाको ज्यानसमेत गयाे भने कैलाली र कञ्चनपुरमा १०९ जना घाइते भए ।

हुरीका कारण विद्युत सेवा, टेलिफोन, इन्टरनेट सेवा बन्द भएकाे छ भने रुखहरु ढल्दा ठाउँठाउँमा सडक छेकिएका छन साथै केराखेती, फलफुल तथा तरकारी खेती पनि नोक्सान भएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया