प्रधानमन्त्री केपी शर्मा ओली युरोप प्रस्थान

 जेठ २५, २०७६ शनिबार २०:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली साता लामो भ्रमणका लागि युरोप प्रस्थान गर्नुभएको छ । 

स्विजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुँदै सुरु हुने प्रधानमन्त्रीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिनेछ । जेनेभाको  भ्रमण सकेर प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत पुग्नुहुनेछ ।

प्रधानमन्त्री ओली नेपालको सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध रहेको देश बेलायतमा तीन दिन रहनु हुनेछ । प्रधानमन्त्रीले बेलायती समकक्षी टेरेसा मे सँग जेठ २८ गते भेटवार्ता गर्नुहुने कार्यक्रम छ जसमा बेलायती समकक्षीसमक्ष द्विपक्षीय हितका साथै भूपू गोर्खा सैनिकका बारेमा छलफल हुने कार्यक्रम छ ।

यस्तै प्रधानमन्त्री ओलीले जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । बेलायतको भ्रमण पछि प्रधानमन्त्री फ्रान्स पुग्नुहुने छ । फ्रान्स भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी सम्झौता हुने भएको छ । त्यहाँ दुई देशको ‘वान टु वान’ मिटिङमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई पक्षीय निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने कार्यक्रममा सम्झौता गरिने तयारी गरिएको छ । समग्रमा प्रधानमन्त्रीको युरोप भ्रमण आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन केन्द्रित हुनेछ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया