पश्चिमी र स्थानीय वायुले वर्षा, मनसुन भित्रिन अझै केही दिन लाग्ने

 असार ३, २०७६ मंगलबार ८:३७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केहीदिनयता बढीरहेको गर्मी सोमबारदेखि केही मात्रामा घटेको छ । पश्चिममा पश्चिमी वायु र मध्य तथा पूर्वी भूभागमा स्थानीय वायुको प्रभावसँगै भारत र बंगलादेशमा बनेको न्यूनचापीय प्रणालीका कारण सोमबार वर्षा भएकाले केही दिनयाता बढीरहेको गर्मी कम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले नै मंगलबार देशका सबैजसो ठाउँको मौसम बद्ली भई बेलुका हावाहुरी र मेघ गर्जनसहित पानीपर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । 

अहिले बादल बन्ने प्रक्रिया सुरु भएको र बेलुका पानी पर्ने सम्भावना भएकाले मंगलबार पनि तापक्रम केही घट्ने सम्भावना रहेको नगरकोटीले बताउनुभयो । पूर्वका केही ठाउँमा मंगलबार बिहान पनि मौसम बद्ली भएर केही ठाउँमा पानी परेको छ ।

सोमबार राति काठमाण्डौ उपत्यकामा १४ दशमलव ५ मिलिमिटर पानी परेको छ । अबको ३ दिन देशभरको मौसम बद्ली हुने र बेलुकातिर पानी पर्ने सम्भावना रहेको पनि मौसमविद् नगरकोटीले बताउनुभयो ।

नेपालतिर आउने मनसुनी प्रणाली बंगालको खाडी आसपासमै रोकिएपछि मनसुन भित्रिने बेलामा उखरमाउलो गर्मी बढिरहेकाे छ ।  सामान्यतया जेठ अन्तिम साता (जुन १०) मा भित्रिने मनसुन असार लाग्दा पनि आएको छैन । नेपालमा मनसुन प्रवेश गर्न अझै केही दिन लाग्ने माैसमविद्ले बताएका छन् । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया