आधा घण्टामै रोपियो बगरमा १५ हजार बिरुवा

 साउन ६, २०७६ सोमबार १६:३७:१९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – बगरलाई वनको रुपमा विकास गर्न दाङमा वृक्षारोपण अभियान थालिएको छ ।  बगरलाई वन बनाउने कार्यलाई डिभिजन वन कार्यालयले अभियानकै रुपमा अघि बढाएको हो ।

डिभिजन वन कार्यालय दाङले स्थानीय सामुदायिक वन समूहको अग्रसरतामा सबै पालिकाको समेत सहभागि गराएर वृक्षारोपण अभियान सुरु गरेको कार्यालयका डिभिजनल वन अधिकृत दीपक ज्ञवलीले जानकारी दिनुभयो ।

यो वर्ष धेरै ठाउँमा तारबारसहित वृक्षरोपण गरिएका कारण संरक्षण पनि हुने विश्वास डिभिजन वन कार्यालय दाङको छ । डिभिजनल वन अधिकृत ज्ञवालीका अनुसार यस वर्ष दाङमा ६० विगाह क्षेत्रफलमा बिरुवा रोपिएको छ । घोराही क्षेत्रमा मात्रै ३० विगाहमा वृक्षारोपण भएको उहाँले बताउनुभयो । हरियाली प्रवर्द्धनसँग कुनै पनि खाली क्षेत्रलाई उपयोगमा ल्याउन नदी किनारमा वृक्षारोपण अभियान थालिएको उहाँले जानकारी दिनुभयो ।

यस वर्ष नयाँ वन समूहका रुपमा हस्तान्तरण गरिएको घोराही उपमहानगरपालिका –५ को खैराकचिला सामुदायिक वन समूहको बबइ नदीको बगर क्षेत्रमा सोमबार एकै पटक १५ हजार बिरुवा लगाइएको हो । खयर, सिसौ, मसला, टिक, बकाइनो, अमला, टटेलो, बाँस, आँपलगायतका बिरुवा लगाइएको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो ।

झण्डै १४ विगाह बगर क्षेत्रलाई तारबार गरी बिरुवा रोपिएको हो । झण्डै साढे ८ लाख रुपैयाँ खर्च गरेर तारबार गरिएको थियो ।  वडाध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले आँपको बिरुवा रोपेर १५ हजार वृक्षारोपणको अभियान थालिएको हो ।

वृक्षारोपण कार्यक्रममा द ब्रेभ गोर्खा, द स्यालुट गोर्खा र लोटस ट्रेनिङ सेन्टरका प्रशिक्षार्थीहरुको सहभागिता रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

वृक्षारोपण कार्यक्रममा वन उपभोक्ता समूह, जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, निजामती कर्मचारीसहित एकहजार जनाले बिरुवा रोपेका हुन् ।

अन्तिम अपडेट: चैत २६, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया