बाढी पहिरो प्रभावितलाई ट्रेड युनियनको १० लाख सहयोग

 साउन ८, २०७६ बुधबार १३:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाख आर्थिक सहायता उपलब्ध गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी युनियनका पदाधिकारीहरुले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा युनियन र युनियनमा आवद्ध राष्ट्रिय स्तरका कर्मचारी संघ, संगठनहरुको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यस अवसरमा उहाँले युनियनले विगतमा पनि भूकम्पलगायतका पीडितलाई राहत उपलब्ध गराउँदै आएको पनि स्मरण गराउनु भएको थियो ।

केडिया अर्गनाइजेशनको १५ लाख सहयोग

औद्योगिक घराना केडिया अर्गनाइजेशनले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् बाढी, पहिरो र डुबान पीडितका लागि १५ लाख आर्थिक सहायता प्रधानमन्त्री ओलीलाई उपलब्ध गराएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका यो समूहका पदाधिकारीहरुले प्राकृतिक प्रकोपमा परेकाहरुलाई राहत दिने कार्यमा आफूहरु सरकारलाई सहयोग गर्न सधैँ प्रतिबद्ध रहेको पनि बताएका थिए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबान पीडितलाई राहत उपलब्ध गराएकोमा दुवै संस्थाप्रति आधार व्यक्त गर्नुभएको थियो ।

गएको असार २७ गतेबाट ३ दिनसम्मको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट दर्जनौँले ज्यान गुमाउनु परेको थियो भने दर्जनौँ घाइते र हजारौँको संख्यामा विस्थापित भएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया