देउवाकाे प्रश्न : भारतले नेपाललाई दोष दिने, नेपालले भारतलाई दोष दिने, कति दिन सम्म चल्छ यो ?

 साउन ८, २०७६ बुधबार १६:४०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दलका नेता  तथा कांग्रेस सभापित शेरबहादुर देउवाले तराईका जिल्लामा बर्सेनि हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नु पर्ने बताउनुभएको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेता देउवाले सरकारलाई तराईका जिल्लामा  बर्सेनि हुने डुबानको दीर्घकालीन समस्या समाधानका लागि कुटनीतिक पहल गर्न आग्रह गर्नुभएको हो । उहाँले तटबन्धका कारण बर्सेनि डुबानको समस्या झेल्नुपरेको भन्दै भारत र नेपालले एक आपसमा दोषारोपण गरेर मात्रै समस्या समाधान हुन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, 'भारत सरकारसँग कुरा गर्नुपर्ने बेला भैसकेको छ । भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिने । कति दिन सम्म चल्छ यो ? त्यसकारण कुटनीतिक तहबाट भारतसँग कुरा गर्नुपर्ने भएको छ । भारतले डुबान पार्‍याे भन्छन् यहाँ । भारतले नेपालले सिध्यायो भन्छ । त्यसकारले यसमा कुटनीतिक ढंगले कुरा गर्नुपर्छ ।'

कोशी ब्यारेज बन्दै गर्दाको समयमा नेपालको सीमामा साना-साना चिया पसल गरी बसेकालाई भारतले सुरक्षाको कारण हटाउन खोजेको भन्दै उहाँले समस्या समाधानका लागि पनि सरकारलाई आवश्यक कुटनीतिक पहल गर्न आग्रह गर्नुभयो ।

उहाँले सरकारले बाढी र डुबानमा परि घरबारविहिन भएकालाई उचित वासस्थान र तत्कालीन राहतको व्यवस्था गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, 'टहरा बनाएर बसेका छन् खाद्यान्न छैन । सरकारको पहिलो कर्तव्य जो बाढी,पहिरो र डुबानमा परि घरबारविहीन भएका छन् उनलाई खाद्यान्न दिने । लत्ता कपडा दिने, पाल दिने, ओत दिने काम केही गरेको छैन । रेडक्रस, केही विदेशी संस्था आईएनजीओहरुले  सहयाेग गरेका छन् । तर सरकारबाट कहीँ पनि देखिन मैले । हेलिकोप्टरबाट उद्धार कहाँ हुन्छ ? त्यसकारण सरकार तात्नुपर्ने, लाग्नुपर्ने । कहीँ पनि लागेको छैन ।'

सिरहा, सुनसरी, रौतहट लगायत जिल्लाको अनुगमनका क्रममा आफूले कतै पनि सरकारको उपस्थिति नदेखेको भन्दै उहाँले ‘दु:ख परेको बेला आवश्यक प्रबन्ध मिलाउनुपर्नेमा सरकार नपुगेको’ टिप्पणी गर्नुभयो ।

उहाँले बाढी र डुबान प्रभावितलाई सरकारले आफ्नो कर्तव्य र दायित्व पूरा गर्न नसकेको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया