हलेसीमा नेकपाको चक्काजाम

 साउन ८, २०७६ बुधबार १७:१६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

मंगलबार नगरपालिका कार्यालय घेराउ गर्दै नेकपाका जनप्रतिनिधि र कार्यकर्ता

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगरसभाप्रति असन्तुष्टि जनाउँदै नेकपाका नेता तथा कार्यकर्ताले हलेसी र च्यास्मीटारमा चक्का जाम गरेका छन् ।

नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढंगले चौथो नगरसभा गरिएको विरोधमा नेकपा नगर कमिटिले बुधबार मध्य पहाडी लोकमार्गअन्तर्गत हलेसी–जयराम सडकका दुई स्थानमा एक-एक घण्टा चक्का जाम गरेको हो ।

हलेसीमा गरिएको चक्काजामका क्रममा हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई, महादेवस्थानकै वडा सदस्य निरजमानसिं बस्नेत, नेकपा नगर कमिटीका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर कमिटीकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडा कमिटी सचिव धनकुमार भुजेललाई प्रहरीले पक्राउ गरेर झण्डै आठ घण्टा नियन्त्रणमा राखेको छ ।

बिहान पक्राउ परेका जनप्रतिनिधि, नेता तथा कार्यकर्तालाई राष्ट्रिय राजमार्गमा अवरोध नगर्ने गरी दिउँसो साढे २ बजे छाडिएको खोटाङका डीएसपी बामदेव गौतमले बताउनुभयो ।

नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नेलगायतका माग राखे पनि बेवास्ता गरिएको विरोधमा चक्काजाम आह्वान गरिएको नेकपा नगर कमिटी अध्यक्ष सुरेन्द्र राईले दाबी गर्नुभयो ।

सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिइ कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजस्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको नेकपाको आरोप छ । 

हलेसी तुवाचुङ नगरपालिकामा मेयर र उपमेयरसहित ७ ओटा वडामा नेपाली कांग्रेस विजयी भएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया