बाघ संरक्षणमा नेपाल पहिलो देश बन्दै : डमरु हुर्काउन सकेमा मात्रै पनि लक्ष्य पुग्ने

 साउन १३, २०७६ सोमबार ८:४०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाघ संरक्षणमा नेपाल विश्वकै पहिलो देश बन्ने सम्भावना बढेर गएको छ । १० वर्षमा पाटे बाघको संख्या १ सय २१ बाट बढेर २ सय ३५ पुगेकाले यही अवस्था रहेमा नेपाल बाघ संरक्षणमा विश्वकै पहिले देश बन्ने सरकारको भनाई छ ।

विश्वमा बाघ पाइने देशहरुको सन् २००९ मा भएको सम्मेलनले सन् २०२२ भित्र बाघको संख्या दोब्बर बढाउने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धता जनाउँदाको बेला नेपालमा बाघको संख्या १ सय २१ थियो । अहिले बाघको संख्या बढेर २ सय ३५ पुगेको छ । अबको तीन वर्षमा संरक्षण प्रभावकारी भएमा नेपाल विश्वका अरु देशमध्ये प्रतिबद्धता पूरा गर्ने पहिले देश बन्ने छ । 

‘यही अवस्था रह्यो र महाविपत्ती भएन भने बाघको संख्या दोब्बर पुग्ने निश्चित छ’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराईले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘त्यतिबेलाको संख्याबाट दोब्बर बनाउने भनेको २ सय ४२ पुर्‍याउने हो, अहिले नै २ सय ३५ पुगिसकेको छ, बाँकी ७ वटा बाघ पुर्‍याउन कुनै कठिनाई छैन ।’

उहाँका अनुसार अहिले भएकै बाघका बच्चा अर्थात डमरु हुर्काउन सकेमा मात्रै पनि संख्या दोब्बर बनाउने लक्ष्य भेट्न गाह्रो छैन । गणना गर्दा दुई वर्षमाथिका बयस्क बाघको मात्रै गणना गरिन्छ । डमरुको गणना गरिंदैन । ‘पोहोरको गणनामा हामीले १५/२० वटा जति त डमरु देखेका थियौं, जुन गणनामा समावेश छैन’ भट्टराईले भन्नुभयो, ‘ती डमरु हुर्काउन सक्दा मात्रै पनि हामी लक्ष्य भेट्न सक्छौं, जुन त्यति गाह्रो छैन ।’

बाघ पाइने ठाउँमै दिवस मनाईंदै

सोमबार ‘पर्यापर्यटन प्रवर्धनका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालमा आउने पर्यटक बाघ पाइने ठाउँमै बढी जाने गरेका र पर्यापर्यटनको माध्यमबाट स्थानीयबासिन्दाको आयआर्जन बढाउन सकिने भएकाले यसवर्षको बाघ दिवसलाई पर्यापर्यटनसँग जोडिएको विभागका उपमहानिर्देशक भट्टराईले बताउनुभयो ।

यसपटक बाघकै बासस्थानमा स्थानीय बासिन्दा र पालिका प्रतिनिधिसँग छलफल र अन्तरक्रिया गर्दै दिवस मनाउन लागिएको हो । यसअघिका वर्षहरुमा काठमाण्डौमा हुने गरिएको कार्यक्रम यसपटक बाघ पाइने ठाउँमै बसेर मनाउन लागिएको विभागले जनाएको छ । बाघको आकर्षण बढदै गएको बाँके निकुञ्जमा दिवस मनाउन लागिएको विभागका उपमहानिर्देशक भट्टराईले बताउनुभयो । २०६७ सालमा स्थापित बाँके निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढिरहेको छ । 

अघिल्लो वर्षको तथ्याँकअनुसार बाँकेमा २१ वटा बाघ पुगेका छन् । यस्तै चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । 

बाघको संख्या बढेसँगै चुनौती पनि थपिएका छन् । बाघको बासस्थानमा माइकेनिया लगायतका मिचाह प्रजाति बढ्दै जानु, आहारा प्रजातिको लागि उपयुक्त घाँसे मैदान घट्दै जानु र पानीका स्रोत सुक्दै जानुले चुनौती थपिएको संरक्षणकर्मीहरुको भनाई छ ।

तर यी चुनौती समाधान गर्दै बाघ संरक्षणको अभियान बढाउने सरकारले जनाएको छ । विभागका अनुसार बाघको बासस्थान तथा आहारा प्रजाति व्यवस्थापनको लागि काम भैरहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया